दशै भित्रीएसंगै मेला,उत्सवको तयारी


दमक,११असोज । यसवर्षको दशै भित्रीएसंगै झापामा मेला तथा सांस्कृतिक उत्सवको तयारी हुन थालेका छन् । दशैका अवसरमा लाग्दैआएका परम्परागत मेला भव्य रुपमा सम्पन्न गर्न स्थानीय स्तरमा आवश्यक तयारी तीव्र रुपमा हुन थालेका छन् ।
यसैक्रममा वडा दशैको अवसर पारेर झापाको शिवसताक्षीमा यहि असोज १५ गते पहिलो पटक सन्थाल मेला आयोजना हुने भएको छ । मेलामा विभिन्न १८ समूहको प्रतियोगितात्मक नृत्य पनि हुने आयोजक सन्थाल मेला सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ३ को पाराबारी बजारमा अल्पसंख्यक सन्थाल जातिको लोपन्मुख नृत्य सहितको मेला आयोजना गर्न लागिएको वडा अध्यक्ष भास्कर न्यौपानेले बताए । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका अल्पसंख्यक सन्थाल जातिको पम्परागत नृत्यको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए ।
शिवसताक्षी नगरको वडा नम्बर २, ३, ५, ८,१० लगायतका वडामा सन्थाल समुदायको बसोबास रहेको छ । पारावारीमा आयोजना हुन लागेको सन्थाल मेलाले सन्थाल समुदायका लागि यो मेला पर्वका रुपमा स्थापित हुने र यस्ता कार्यक्रमले नगरमा निरन्तरता पाउने मेला आयोजक समितिका संयोजक मेघराज ओझाले बताए ।
मेलामा जिल्ला भरिका सन्थाल समुदायको बाक्लो उपस्थिति रहने जनाइएको छ । नृत्यमा प्रथम हुनेले रु १५ हजार, दोश्रोले रु १० हजार र तश्रोले रु ५ हजार नगद पुरस्कार पाउने छन् ।
दशैका अवसरमा जिल्लाका गरामनी,राजगढ, कन्काई, बिर्तामोड, गौरीगञ्ज, गौरादह , कमल गाउँपालिका लगायतका एक दर्जन बढी स्थानमा लाग्दैआएका मेलाको प्रमुख आकर्षण नै सन्थाल नृत्य हुने गर्दछ ।
सन्थाल नृत्य आफ्नै जातिय भाषा, गाईजात्रे पहिरन, रङ्गीचङ्गी भावभङ्गीमा, रङ्गीन कमिज, पञ्ची, धोती जस्तो कपडा, शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिकरूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ । यस नृत्यमा नाच्नेहरू सबै पुरुष सन्थाल हुन्छन, भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिला पनि उत्तिकै सक्रिय हुन्छन् ।
मेलामा उनीहरुका नृत्य टोलीले आफना प्रतिभा देखाउन मट्टितेल मुखमा हाली आगोको लप्का निकाल्ने, माटोमा टाउको गाड्ने, मान्छेमाथि मान्छे चढ्दै दुई, तीन तहको घेरा बनाई नृत्य गर्ने, सयौं कोर्रा सहने आदि यस जातिको नृत्यका केही डरलाग्दा रोमाञ्चक र आश्चर्यजनक दृश्यहरू देखिन्छन् । दशै शुरु भए लगत्तै सन्थाल बसोबास रहेका कतिपय बस्तीमा यी समुदायले सन्थाल नृत्यको अभ्यास गर्न थालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published.