देशैभरि भारी वर्षा , सतर्क रहन आग्रह

झापा, ११ असोज । झापामा पछिल्लो चौबीस घण्टामा झापासहित देशैभरि भारी वर्षा भएको छ ।आज बिहान ९ बजे झापाका तीन बर्षामापन केन्द्रले २४ घण्टामा भारी वर्षा भएको देखाएको हो । केचनामा १७९.८, गौरादहमा १६२.२ , चन्द्रगढी एयरपोर्टमा १४४.२ र अनारमनी बिर्तामोडमा ११६.६ मिमि बर्षा भएको हो ।

त्यस्तै इलामको बर्षामापन केन्द्रहरुमा पनि बर्षा क्रमिक बढ्दै गएको देखिएको छ । कन्काई नदीमा जलस्तर २. ८ मिटर पुगेकोले सतर्क रहन नेपाल रेडक्रस सोसाइटी झापाले आग्रह गरेको छ ।

पहिरोले इलामका विभिन्न सडकहरु अवरुद्ध

अविरल वर्षासंगै पहिरो जाँदा इलामका विभिन्न सडकहरु अवरुद्ध भएका छन् ।आज बिहान पहिरो जाँदा पशुपतिनगर–मानेभन्ज्याङ भित्री सडकखण्ड अवरुद्ध भएको छ । बिहान ६ः३० बजे सूर्योदय नगरपालिका– १ स्थित इलाका प्रहरी कार्यालय मानेभन्ज्याङबाट सय मिटर पश्चिममा पर्ने घोडा तरेलामा पहिरो गएको हो । पहिरो गई सो बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।

त्यस्तै घोसेटा मानेभन्ज्याङ जंगलस्थित मानेभन्ज्याङ –मंगलबारे भित्री कच्ची सडकखण्ड पनि पहिरो गई अवरुद्ध भएको छ । बाटोको अवरोध हटाउन स्थानीय जनप्रतिनिधि र सम्बन्धित कार्यालयसंग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै इलामको बिब्ल्याटे–माबु सडकखण्डअन्तर्गत माबु हाइड्रो छेउ सुलुबुङमा पहिरो खसेर अबरोध भएको छ । भित्री सडकहरुमा अवरोध भएपनि मेची राजमार्ग भने सुचारु रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

२० जिल्लामा बाढीको जोखिम

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले लगातार वर्षाका कारण देशभरजसो बाढीले क्षति गर्ने जोखिम देखिएकाले सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।

आज शुक्रबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गरी महाशाखाले आज तराईका सबै जिल्लासहित देशका २० जिल्लामा अति उच्च सतर्कता अपनाउन सुझाव दिएको हो।

बाढी महाशाखाले आज मधेस प्रदेशका सबै जिल्ला, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पर्वत र आसपासका जिल्ला भई वहने अधिकांश ससाना नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिमको पूर्वानुमान रहेकाले अति उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
साथै आज पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, गोरखा, लमजुङ, कास्की, म्याग्दी, बाग्लुङ, प्युठान, गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने अनुमान रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बाढी महाशाखाका अनुसार आगामी ३ दिन कोसी, नारायणी, कर्णाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला नदीको जलसतह सतर्कता तहआसपास रहने अनुमान रहेकाले नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरुरी छ।

Leave a Reply

Your email address will not be published.