
दमक,९ असोज । दमक- ६ बेलडाँगी स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले साधारणसभाको कार्यक्रम अन्तर्गत १२ औ साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण यसवर्ष संस्थाले स्वास्थ्य सावधानी अपनाउदै प्रतिनिधिमूलक ढंगले साधारणसभा शुरु गरिएको व्यवस्थापक कमल घिमीरेले जानकारी दिए ।
संस्थाको कार्यालयमा आज संक्षिप्त कार्यक्रम गरि प्रतिवेदन संस्थाका संस्थापक अध्यक्ष बासुप्रसाद काफ्लेसहित संस्थाका अध्यक्ष रवि न्यौपाने सहितका पदाधिकारीहरुले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
सो क्रममा संस्थाका अध्यक्ष न्यौपानेले गत आर्थिक वर्षमा कोरोना भाईरसको महामारीका कारण लामो समय कारोवार वन्द गर्नु परेको भए पनि संस्थाले करिव ३६ प्रतिशतको हाराहारीका कारोवार वृद्धि गर्न सफल भएको जानकारी दिए ।
त्यस्तै, ६६ करोड रुपैयाँ भन्दा वढि वचत संकलन गरेको संस्थाले करिव ९० करोड रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभा उद्घाटनमा लेखा समिति संयोजक शिवप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरि संस्थाले हरेक बर्ष प्रदान गर्दे आएको पुरस्कार तथा सम्मान कार्यक्रमलाई निरन्तरता दिईएको जनाएको छ । त्यस अन्तर्गत ५ जनालाई बाल बचततर्फ , ४ जनालाई सुपर आवधिक बचत,३३ जनालाई उत्कृष्ठ कारोवारबाट सम्मान तथा तीनजना कर्मचारीलाई कर्मचारी तर्फ पुरस्कार तथा सम्मानको नाम सार्वजनिक गरिएको छ । उनीहरुलाई साधारणसभा समापनका अवसरमा सम्मान तथा पुरस्कृत गरिने व्यवस्थापक घिमीरेले जनाएका छन् ।
६५१३ जना शेयर सदस्य रहेको सहकारीले गएको वर्षमा ९ करोड ९२ लाख ८२ हजार चुक्ता शेयर पूंजी ,कुल बचतमा ६६ करोड १४ लाख ३३ हजार ३ सय ७४, ऋण लगानीमा ८९ करोड ३९ लाख ५८ हजार ७१६ र कुल कारोवार १ अर्व ८ करोड १० लाख ४९ हजार ७४४ गरेको प्रतिवेदनमा उल्लेख छ । झापा र मोरङ कार्य क्षेत्र रहेको संस्थाले शेयर सदस्यहरुको सुविधाका लागि झिलझिले, उर्लावारीमा सेवा केन्द्र सञ्चालनमा रहेको र अन्य आवश्यक स्थानमा समेत थप सेवा केन्द्रहरु विस्तार गर्दे लैजाने व्यवस्थापक घिमीरेले बताएका छन् ।