दमकमा प्रदेश स्तरीय वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुने

दमक,८ असोज । दमकमा प्रदेश स्तरीय वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ। आगामी असोज १८ देखि २० गते सम्म सो प्रतियोगिताका विजेताले नगद एक लाखसँगै ट्रफी हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद ५० हजार प्राप्त गर्ने आयोजक समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद २ हजार प्राप्त गर्ने जनाइएको छ।
दमक वडा नम्बर ३ को वडा खेलकुद समितिको आयोजनामा हुन लागेको सो प्रतियोगितामा प्रदेश १ का विभिन्न जिल्लाका १८ पालिकाहरुको सहभागिता रहनेछ।
प्रतियोगिता सफल पार्न प्रथम पुरस्कारको राशी समाजसेवी उद्धव दाहालले गर्ने छन् भने दोस्रो पुरस्कारको राशी भलिबलका पूर्व राष्ट्रिय खेलाडी धन बहादुर श्रेष्ठले प्रदान गर्ने आयोजकले जनाएको छ।
प्रत्येक वर्ष आयोजना गर्ने उद्देश्यका साथ संचालन गर्ने तयारी गरिएको यस प्रतियोगिताको लागि वडा कार्यालयले एक लाख ५० हजार उपलब्ध गराउने वडा अध्यक्ष नविन वरालले जानकारी दिए।
प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख २० हजार खर्च हुने आयोजकले जनाएको छ। प्रतियोगिता दमक ३ स्थित प्रस्तावित मदनभण्डारी रंगशालामा सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published.