ससुराको हत्या : ज्वाइँ रविनलाई प्रहरीद्वारा सार्वजनिक

-छवि ढकाल

पथरीशनिश्चरे, ७ असोज । मोरङको पथरीशनिश्चरेमा ससुराको हत्या गरी फरार ज्वाइँलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
आज जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले ईलाका प्रहरी कार्यालय पथरीमा पथरी शनिश्चरे –७ मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरी फरार भएका उनकै ज्वाइँ २७ वर्षीय रविन राईलाई सार्वजनिक गरे ।ससुराको हत्यामा ज्वाइँ रविनले नै गरेको पुष्टी भएको उनले जानकारी दिए ।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको उपस्थितिमा अभियुक्त राईलाई सार्वजनिक गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त टोलीले हिजो आईतबार बिहान १० बजे धनकुटाको सागुरीगढी -८ आहाले भन्ने ठाँउमा चेकजाँच गर्ने क्रममा निज राईलाई पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए।
गत असोज ४ गते शुक्रवार राति मादक पदार्थ सेवन गरी ज्वाइँ रविनले ससुरा तामाङको हत्या गरी राति नै भागेर धनकुटास्थित आफ्नो दाईको घर जाँदै गर्दा अभियुक्त राईलाई प्रहरीले पक्राउ गरेको थियो।

मदिरा सेवन गरी ससुरामाथि अन्धाधुन्ध ज्वाइँ रविनले धारिलो बाम्फोक प्रहार गरेर शुक्रबार राति नै फरार भएको अनुसन्धानबाट खुलेको छ।निजलाई थुनामा राखी जिल्ला अदालत मोरङबाट थप ४ दिनको म्याद थप्न गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।
प्रहरीले वृद्ध चन्द्रबहादुर तामाङको हत्या गरिएको अवस्थामा शनिबार बिहान ७ः२० बजेतिर आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा तामाङको शव फेला परेको थियो ।मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका थिए ।
इप्रका पथरीका डीएसपी मोहन विक्रम दाहालले घटना स्थलबाट ससुराको शव रगत लतपतिएको अवस्थामा र नजिकै धारिलो हतियार खुर्पा फेला परेको जनाए ।
पक्राउ परेका रविन ससुराली घरमा बस्दै आएका थिए । घरमा ज्वाइँ ससुरा मात्रै बस्दै आएका थिए । रविनको घर पनि ससुराली घरनजिकै छ ।
चन्द्रबहादुरकी छोरी तथा रविनकी पत्नी वैदेशिक रोजगारमा रहेको प्रहरीले जनाएको छ । चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी सबै जना विदेशमा रहेको डीएसपी दाहालले बताए ।मादक पदार्थ सेवनपछि उत्पन्न विवाद हत्यामा परिणत भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published.