दमक,७ असोज । तीन दिन अघि दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका ४४ बर्षीय एलबि भन्ने लाल बहादुर गुरुङको हत्या अभियोगमा इलाम, चुलाचुली गाउँपालिकाका नौ जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गरि घटनाका बारे सो सार्वजनिक गरेको हो ।क
पक्राउ पर्नेमा चुलाचुली ४ का २५ बर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ बर्षीय झ्याम्ले भन्ने नरेश कुमार याख्खा, २१ बर्षीय अभिषेक केरुङ, २० बर्षीय सेसे भन्ने सेसेयाङ याख्खा, ३३ बर्षीय सन्तु भन्ने चन्द्रकुमार यवा, ३५ बर्षीय डम्बर यवा, ३० बर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ बर्षीय बिक्रम हिङमाङ र २९ बर्षिय पर्शु राई समेत गरि ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीले उनीहरुलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घट्ना भएको ३ दिन अगाडि मृतक गुरुङले घट्नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफनै भाई सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्नाको बदला लिन आरोपीहरुले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको खुल्न आएको छ ।
गत बुधबार बेलुका ५ बजे तिर गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार खुकुरी, ढुंगा प्रहार गरी घाईते बनाई घटनास्थलबाट फरार भएका थिए । घाईते गुरुङलाई प्रहरीले उद्दार गरि विर्तामोडस्थित बिएण्डसी अस्पतालमा लगिएकोमा त्यहाँ उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरीले सो घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक दिलिप घिमिरेको कमाण्डमा प्रहरी टोली परिचालन भएको र त्यसक्रममा आरोपीले घटनामा प्रयोग भएको दाप सहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गाहरु तथा मृतकले प्रयोग गरेको को.१९ प ३७२५ नम्वरको मोटरसाईकलको दुबै चक्काको टायर काटी फालेको अवस्थामा फेला पारेको थियो ।