दमक, ७ असोज । दमक आसपासका खोलाहरुलाई ब्यवस्थित गरेर पर्यटकीय स्थलको रुपमा विकास गरिने भएको छ । खोला ब्यवस्थापन तथा सौन्दर्यकरण अभियान दमकले आज आयोजना गरेको सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागिहरुले दमकमा खोला ,नाला अव्यवस्थित रहिआएकोमा अव त्यसलाई व्यवस्थित गरि पर्यावरणसंगै सौन्दर्यकरण बनाउन जुट्ने प्रतिवद्धता जनाए ।
स्थानीय दमक उद्योग वाणिज्य संघको सभाहलमा आयोजित अन्तरकृयामा बोल्दै दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले खोला व्यवस्थापन तथा सौन्दर्यकरण गर्नका लागि नगरपलिकाले योजना अघि बढाउन आवश्यक भूमिका निर्वाह गर्ने विचार राखे । स्थानीय सरकारसंगै नीजिक्षेत्रबाट यस किसिमका नयाँ कार्य थालनी हुनु राम्रो भएको चर्चा गदै उनले दमकका साना ,ठुला सवै खोला को समुचित ब्यवस्थापन गरि सौन्दर्यकरण बढाउन सकिने जोड दिए ।
छलफल कार्यक्रममा बोल्दै नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले मरुभूमिका देशहरुमा पनि सही योजना र विविधताभित्रको एकत्वले विकास निर्माणमा फड्को मारेको भन्दै दमकको विकासमा सबैको साथ र सहयोग आवश्यक रहेको औल्याईन् ।
अन्तरकृयामा अभियानको अगुवाई गरिआएका रेवत राज पुरीले अभियानबारे जानकारी गराउँदै खोला ब्यवस्थापन तथा सौन्दर्यकरण बनाउन पाइलट प्रोजेक्टको रुपमा यो अभियानलाई नगरपालिकाले अघि बढाएको खण्डमा दमकलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने विचार ब्यक्त गरे ।
भेलामा प्राविधिक उमेश धिमालले खोला सौन्दर्यकरण गर्न आवश्यक अनुमानित बजेट र डीपीआर तयार गर्न आवश्यक इक्युमेन्ट र संरचनाको मार्गचित्रबारे स्पष्ट पारेको थिए भने वडाअध्यक्षहरुको तर्फबाट दमक वडा नं ९ का वडाअध्यक्ष कुवेर भट्टराईले योजना दमकको हितमा भएकाले आफ्नो साथ र सहयोग रहने बताए ।
विभिन्न समिति गठन
सोहि अन्तरकृयासहितको भेलाले दमक आसपासका खोला ब्यवस्थापन तथा सौन्दर्यकरण अभियान दमक मूल समिति गठन गरेको छ । रवि बस्नेतको अध्यक्षतमा २९ सदस्यीय मूल समिति र आवश्यक विभिन्न उपसमिति समेत गठन गरिएको छ । गठित मुल समितिको तीन उपाध्यक्षमा क्रमशः चन्द्रा खड्का भटटराई , भरत चौंलागाईं , युवराज धिमाल , सचिवमा नेत्र चौंलागाईं, सहसचिवद्धयमा विष्णु पोखरेल र रमा लिम्बू, कोषाध्यक्षमा विन्दु सिटौला, सहकोषाध्यक्षमा चेतना निरौला रहेका छन् ।
यसैगरी सदस्यहरुमा गणेश गौतम, रोशन भण्डारी, विष्णु पराजुली, भेषराज भट्टराई, चन्द्र खत्री, श्रृजन दाहाल, डम्बर बोहोरा, श्याम कुमाल, नविन योगी, याम नोरेङ्गे, सुनु धिमाल, कमल कटुवाल, प्रकाश लिम्बू, छविलाल लिम्बू, डिकबहादुर कार्की, नारायण दाहाल, राजु खड्का, मिरा संग्रौला र ज्ञानकुमारी बुढाथोकी रहेका छन् ।
यस्तै, सल्लाहकार समितिमा लोकबहादुर धिमाल, सोमराज तामाङ र बेदु गौतम र संरक्षक समितिमा नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईं, र अभियन्ता रेवतराज पुरी रहेका छन् ।