कांग्रेसको पालिका तहको निर्वाचन तयारी पूरा

दमक,७ असोज । एकसय ३१ वटै वडामा निर्वाचन सम्पन्न भएसँगै झापाका पालिका तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको छ । नेपाली कांग्रेस जिल्ला निर्वाचन समिति झापाले यही असोज ९ गते हुने पालिका तहको निर्वाचनका लागि झापाका १५ वटै पालिकाको निर्वाचन गर्न आवश्यक तयारी पूरा भएको जनाएको छ ।
त्यसका लागि तोकिएका मतदान अधिकृतलाई पार्टीको विधान, निर्वाचन निर्देशिका र अनुसूचीहरुबारे बिहीबार प्रशिक्षण समेत दिइएको छ ।
कांग्रेस झापाका सभापति उद्धव थापाले निर्विवाद रुपमा वडा अधिवेशन सम्पन्न गर्ने वडा तहका सम्पूर्ण मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई धन्यवाद दिँदै पालिका तहको निर्वाचन पनि स्वच्छ, पारदर्शी, निश्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आग्रह गरे । क्रियाशील सदस्यता वितरण र वडा तहको निर्वाचन शान्तिपूर्ण रुपमा भएपछि सबै जिल्ला एवं केन्द्रमा समेत झापा उदाहरणीय बनेको चर्चा गर्दै सभापति थापाले स्वस्थ प्रतिष्पर्धाका लागि सम्पूर्ण नेता कार्यकर्तालाई आह्वान समेत गरे । लोकतान्त्रिक पद्धतिअनुरुप भएको निर्वाचनमा हारजित सामान्य प्रक्रिया भएको भन्दै उनले निर्वाचनपछि पार्टी एकढिक्का हुने विश्वास ब्यक्त गरे ।
प्रशिक्षणका क्रममा जिल्ला निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले पालिका तहको निर्वाचनमा समावेशी सहभागितासम्बन्धी ब्यवस्थासहितको अनुसूची, निर्वाचन निर्देशिका र विधानका विषयमा उठेका सवालहरुको जवाफ दिएका थिए ।
निर्वाचन सम्पन्न गराउन आफू माध्यम मात्रै भएको बताउँदै उनले शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न पालिका तहमा खटिएका अधिकृतहरुलाई आग्रह गरे ।
नेपाल शिक्षक संघका अध्यक्ष नेत्र खरेलले सहजीकरण गरेको कार्यक्रममा नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व अध्यक्ष कृष्ण हुमागाई, डेमोक्रेटिक लयर्स एसोसिएसन झापाका अध्यक्ष यज्ञप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।
तोकिए मतदान अधिकृत
जिल्ला निर्वाचन समितिले जिल्लाका १५ वटै पालिकामा निर्वाचन सम्पन्न गर्न मतदान अधिकृत तोकेको जनाएको छ । जसअनुसार मेचीनगरमा हरिप्रसाद अधिकारी, अर्जुनधारामा लक्ष्मीप्रसाद शिवाकोटी, बुद्धशान्तिमा बसन्त नेपाल, बिर्तामोडमा नारायणप्रसाद पौडेल, कनकाईमा खगेन्द्र खरेल, हल्दिबारीमा बोधकृष्ण पौडेल, बाह्रदशीमा अमृतबहादुर बुढाथोकी, भद्रपुरमा मञ्जु दाहाल, कचनकवलमा मित्र खनाल, झापामा जगन्नाथ राजवंशी, शिवसताक्षीमा प्रकाश भण्डारी, कमलमा कुमार खतिवडा, दमकमा बबुवान दाहाल, गौरादहमा सुरेशकुमार पोखरेल, र गौरीगञ्जमा गोविन्द घिमिरेलाई मतदान अधिकृत तोकिएको छ । मतदान अधिकृतसहित निर्वाचनमा सघाँउ पुरयाँउन सवै पालिकामा आवश्यकता अनुसार सहकाय मतदान अधिकृत समेत तोकिएको जिल्ला निर्वाचन समितिका संयोजक चिलवालले जानकारी दिए ।
९ असोजमा उम्मेदवारी मनोनयन
निर्वाचन कार्यतालिका अनुसार मतदान अधिकृत र सहायक अधिकृतहरुले असोज ८ गते निर्वाचनस्थल तय एवं ब्यवस्थापन गर्नेछन् भने ९ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन, १२ देखि २ बजेसम्म उम्मेद्वारी दर्ता, २ बजेदेखि २:३० उम्मेद्वारमाथि दावीविरोध, ३ बजे उम्मेद्वारको नामावली प्रकाशन , ३ बजेदेखि ६ बजेसम्म उम्मेद्वारी फिर्ता र ६:३० बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैगरी असोज १० गते बिहान ८ बजेदेखि १ बजेसम्म मतदान र मतदान सम्पन्न भएलगत्तै मतगणनाको समयतालिका तय गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.