
दमक,७ असोज ।नेपाल विधार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेति दमकको कौडाखालमा पक्राउ परेको खुलेको छ । दुई दिन अघि प्रहरीले जुवा (कौडा ) खालमा पक्राउ गरेकामध्ये उनले आफनो वतन लुकाएर कनकाई –३ ठेगाना दिई सुनिल शाह उल्लेख गरेका थिए । उनले आफनो परिचय लुकाएपछि शंका लागि नागरिकता झिकाउदाँ उप्रेती भएको खुलेको प्रहरीले पुष्टि गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकले मंगलवार राती ११:३० बजे दमक १ स्थित हिमाल देवानको घरबाट १७ जनालाई कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । १७ जनामा धेरैले गलत नाम लेखाएका थिए ।
नेविसंघ झापाका सभापति उप्रेतिलाई पक्राउ गरिएको विषय गोप्य राख्न जिल्ला प्रशासन र प्रहरीलाई समेत दवाव दिइएको छ । तर, प्रहरीले नागरिकता झिकाए पछि राजेन्द्र उप्रेति नै भएको पुष्टि भएको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा १६ थान कौडा र चार लाख सत्ताईस हजार छ सय रुपैयाँ समेत बरामद गरेको थियो । प्रहरीले उप्रेतिसहित भद्रपुर ७ का ५१ वर्षीय युवराज न्यौपाने, वडा नं ९ बस्ने ४९ वर्षीय दिल बहादुर राई, बिर्तामोड–१ का ४२ वर्षीय तिर्थ अधिकारी, भद्रपुर १० का ५० वर्षीय ठाकुर प्रसाद निरौला (घाईते ), गौरादह ५ का ४५ वर्षीय हरि कोईराला, कमल ४ का सुबिन्द्र सुब्बा, कन्काई ३ का मोहन बराल, मोरङ ग्रामथान ४ का लक्ष्मी प्रसाद अधिकारी, नैन कुमार चौधरी, रुपेश तामाङ, पथरी शनिश्चरे ४ का बलराम बस्नेत, गंगाराम मगर, बेलबारी ११ का २१ को निशान पोखरेल, दमक ७ का ४९ को कर्ण राई, राजन दाहाल र विनोद थेबेलाई पक्राउ गरेको छ ।त्यसमध्ये कर्ण राई भने कौडा सञ्चालन गर्ने मुख्य नाइके भएको प्रहरी स्रोतको दावी छ । म्याद थप गरेर उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।