प्रसाईंका समर्थकले झापामा तीनवटा ट्रक जलाए

झापा ,७ असोज। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकले झापामा आज विहान तीन वटा भारतीय मालवाहक ट्रकमा आगजनी गरी क्षति पुर्याएका छन्।
प्रसाईंका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेका हुन् ।
४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका थिए । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।

यसैगरि, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टी–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समूहले ट्रकमा आगजनी गरेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

ट्रकमा आगजनी गर्दा चालक पनि घाइते भएका छन् । उनको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको भनाई छ । नाम खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यसै गरी सोमबार बिहान झापाको धाइजनमा डब्लूबी–७३ ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ ।पक्राउको विरोधमा प्रसाई समर्थकहरुले आज चक्काजाम आव्हान गरेका छन् । उनीहरुले आगजनी जस्ता अराजक गतिविधि गरेपनि यातायात संचालन भइरहेको प्रहरीले जनाएको छ ।

हिजो प्रहरीले झापामा दुईजना समर्थकलाई पक्राउ गरेको थियो ।पक्राउ पर्नेहरुमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन् ।

Leave a Reply

Your email address will not be published.