झापा,६ असोज । झापा, विर्तामोड निवासी लागूऔषधका मुख्य कारोबारी भानुभक्त खरेल जेल चलान भएका छन् ।झापा जिल्ला अदालतले बिर्तामोड ५ का ५० वर्षीय खरेललाई आइतवार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । उनका सहयोगी अर्जुनधारा ६ बस्ने २५ वर्षीय विनोद खरेल भने २ लाख ५० हजार धरौटीमा छुटेका छन् ।
राजनीतिक शक्तिको आडमा दुई महिनादेखि पक्राउ नपरेका लागूऔषधका मुख्य कारोबारी खरेललाई भदौ २८ गते स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।जेनजीको आन्दोलन भएको दिन भदौ २४ गते उनी घर आएका थिए ।
जेनजीको आन्दोलनका क्रममा अरु थुनुवासंगै हिरासतबाट भागेका खरेलका कामदार घिमिरेले शनिवार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । राजनीतिक शक्तिको आडमा अवैध धन्दा गर्दै आएका खरेलको गोदाममा छापा मारी गत साउन १ गते प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित औषधीजन्य लागूऔषध बरामद गरेको थियो ।
प्रहरीले उनको गोदामबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल १,०३,८००, ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन– १८७० एम्पुल, ट्रामाडोल एण्ड एस्टामाइनोफेन ट्याब्लेट ४०५०, डिसाइक्लोमिन ट्याव्लेट ९७,०००,सिल्डेनेफिल ट्याव्लेट ८,९०० र कम्बीप्याक अफ माइफेप्रिस्टोन ट्याव्लेट – ७,६५० बरामद गरेको थियो ।