झापा ,६ असोज । झापामा आत्महत्या गर्नेहरुको संख्या बढेको छ । आइतवार मात्र एकैदिन चार जनाले झुन्डिएर आत्महत्या गरेका छन् । शिवसताक्षी –७ घर भई दमक –१० घुमाउने टोलस्थित बेनु बासकोटाको घरमा कोठा भाडा लिई बस्ने ३४ वर्षीय निरबहादुर बुढाक्षेत्री ,मेचीनगर –२ थापा चोक बस्ने ४४ वर्षीय कुमार गिरी , भद्रपुर ५ बस्ने ६२ वर्षीय भिमबहादुर दर्जी र कन्काई –५ तुलसीबारी बस्ने ४६ वर्षीय हर्कबहादुर बि.क.ले हिजो एकैदिन झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
अघिल्लो दिन मात्र हल्दिवारी –२ जीवनवारी बस्ने ९ वर्षीय आयुष राजवंशी र मोरङ मिक्लाजुङ ३ घर भई बिर्तामोड ४ पुरानो भद्रपुर रोडस्थित प्रतिमा कार्कीको घरमा डेरा गरी बस्ने १७ वर्षीया हरिकला काफ्लेले झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
असोज १ देखि ५ गतेसम्म झापामा ८ जनाले झुन्डिएर आत्महत्या गरिसकेका छन् भने ३ जनाले विष सेवन गरेका छन् । जेनजी आन्दोलनपछि बालबालिका र युवामा गहिरो मानसिक आघात र अविश्वासको अवस्था देखिएको अध्ययनले देखाएको छ ।
सेभ द चिल्ड्रेन र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजोप) को एक अध्ययनले नेपालमा भएको जेनजी आन्दोलनपछि बालबालिका र युवामा गहिरो मानसिक आघात र अविश्वासको अवस्था देखिएको निष्कर्ष निकालेको हो । बाल अधिकारको क्षेत्रमा कार्यरत १२ वटा संस्थाको सहकार्यमा गरिएको उक्त अध्ययनले आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूबाट भएको अत्यधिक बल प्रयोगका कारण बालबालिका तथा युवाहरूको मृत्यु भएको, उनीहरू घाइते भएको, मनपरी रूपमा पक्राउ गरिएको र गहिरो मानसिक आघात परेको देखाएको हो ।