दमक,६ असोज । युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (युजीएसए ) ले दमक ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बस्दै आएका पचास जना अशक्त शरणार्थीलाई राहत प्रदान गरेको छ ।
वृद्धवृद्धा ,अपाङ्गता भएका गरि अति समस्यामा परेका शिविरका ५० जनालाई उक्त संस्थाले जाडो छल्ने ब्लाङकेट र दशैं खर्च स्वरूप ५ सयका दरले नगद सहयोग उपलव्ध गराएको हो ।
बुधबार शिविरमा आयोजित एक कार्यक्रमका बीच शिविरका अगुवाहरु अगम गुरुङ, पूर्व शिविर सचिव टिबी गुरुङलगायत सोसाइटीका पदाधिकारीले राहत सामाग्री हस्तान्तरण गरेका थिए । फरक क्षमता भएका आफ्नै समुदायका मानिसहरुलाई सहयोग गर्न पाउँदा आनन्द लागेको पूर्व शिविर सचिव टिवी गुरुङले बताए ।
शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर )लगायतका दातृ निकायले शिविरमा रहेका अशक्त शरणार्थीहरुलाई हेरचाह गर्न छाडेपछि पुनर्वास रोजेर अमेरिका, क्यानडा, अष्ट्रेलया, डेनमार्क, न्यूजल्याण्ड, नर्वेलगायत विभिन्न मुलुक पुगेका शरणार्थीले अशक्तहरुको जीवनयापनमा बेलाबेला सहयोग गर्दै आएका छन् ।
विशाल राईलाई बचाउन युजीएसएको ५० हजार सहयोग
युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (युजीएसए ) ले क्यान्सर पीडित विशाल दुमी राईको उपचारमा स्वेच्छिक रुपमा रु ५० हजार सहयोग उपलव्ध गराएको छ । उक्त संस्थाका कोषाध्यक्ष कर्ण गुरुङले विरामीको उपचारमा थोरै भएपनि सघाँउ पुरयाँउन आफूहरुले संस्थागत रुपमा सो सहयोग उपलव्ध गराएको बताए ।
सिकलसेल (बोनम्यारो ) क्यान्सरबाट पीडित शिवसताक्षी ८ का २८ वर्षीय राईको उपचारमा सहयोग जुटाउन यहि असोज १० गते दमकमा सुप्रसिद्ध गायक राजेशपायल राईसहित चर्चित गायक एकदेव लिम्बूको साथमा सांगीतिक कार्यक्रम गरिने भएको जनाइएको छ ।
हालसम्म विशालको उपचारमा करिब रु १५ लाख खर्च भैसकेको छ भने रगत ट्रन्सप्लान्टका लागि थप रु ३५ लाख लाग्ने अस्पतालले जानकारी दिएको पीडित पारिवारे वताएका छन् ।
कदम थिएटरको मूल संयोजन रहेको कार्यक्रमलाई कदमसहित विशाल राई बचाउ अभियान मूल समिति, थैली इन्टरटेनमेन्टले आयोजना तथा सिल्भर इन्टरटेनमेन्टले इभेन्ट मेनेजमेन्टबाट गर्न लागिएको आयोजकले जनाएको छ ।