स्व.राष्ट्र राईको स्मृतिमा खेलाडीलाई जर्सी वितरण

दमक ,५ असोज । सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक तथा तेक्वान्दो प्रशिक्षक ग्रान्ड मास्टर दमक निवासी स्व.राष्ट्र राईको पहिलो स्मृति दिवस उनको सम्झना गर्दै मनाइएको छ ।
डोजाडको आयोजनामा आज तेक्वान्दो खेलाडीहरुलाई खेल पोशाक वितरण गरेर उनको सम्झना गरिएको हो ।
डोजाङ दमककी अध्यक्ष महेन्द्रकुमारी लिम्बूको अध्यक्षतामा आयोजित सो कार्यक्रममा तेक्वान्दो संघ झापाका अध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सगरमाथा डोजाडद्धारा सञ्चालित तेक्वान्दो प्रशिक्षणमा सहभागी खेलाडी बिद्यार्थीहरु ५० जनालाई खेलाडी पोशाक जर्सी प्रदान गरिएको थियो । सोहि अवसरमा डोजाङले खेलाडीहरुको ग्रेडिङ कार्य समेत सम्पन्न गरिएको प्रशिक्षक मन कटुवालले बताए ।
सो अवसरमा एकाडेमीका सञ्चालक तथा सामाजिक व्यक्तित्वहरु पर्शुराम रिजाल, आस्था कलेज तथा एकता एकाडेमी दमकका अध्यक्ष बलभद्र कोईराला, कलेजका प्रमुख टेकनाथ भण्डारी, कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, प्रशिक्षक मिरा काफ्ले, महिला नेतृ कल्पना राई लगायतले ति खेलाडीहरुलाई पोशाक हस्तान्तरण गरेका थिए । सो अवसरमा वक्ताहरुले खेल क्षेत्रमा स्वदेशदेखि विदेशसम्म स्वर्गीय राईको योगदान स्मरणीय रहेको चर्चा गरे । कार्यक्रमको सञ्चालन डोजाङका सचिव रोशन दाहालले गरेका थिए ।
पूर्व ब्रिटीश आर्मी समेत रहेका राईले बेलायतमा सगरमाथा तेक्वान्दो डोजाङ स्थापना गरेर दमकमा पहिलो शाखा स्थापना गरेका थिए । राईको गत २१ सेप्टेम्बर २०२३ मा ५९ बर्षका उमेरमा बेलायतमा निधन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.