उर्लाबारी, ४ असोज । छैटौं संस्करणको उर्लाबारी रन २०८० को उपाधि गोरखाका सञ्जय श्रेष्ठले जितेका छन्। सामुदायिक विकास मञ्च उर्लाबारी मोरङले आयोजना गरेको उर्लाबारी रनका लागि तय भएको १० किलोमिटर दूरी श्रेष्ठले ३१ मिनेट ५४ सेकेन्डमा पूरा गरी उपाधि जितेका हुन्।निर्धारित दूरी ३३ मिनेट १० सेकेण्डमा पूरा गर्दै काठमाडौंका शिवबहादुर रायमाझी दोस्रो र मोहनदेव जोशी ३३ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै तेस्रो भए ।
संविधान दिवसको अवसरमा आयोजित प्रतियोगिताको महिलातर्फको उपाधि जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले जितिन् । महिलातर्फ प्रथम भएकी न्यौपानेले ४० मिनेट ३९ सेकेण्डमा उक्त दूरी पूरा गरिन्।
सुनसरी तरहराकी सचिना राई ४६ मिनेट १० सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो र धरानकी छिङ्वीमाया राई ४७ मिनेट २ सेकेण्डमा दूरी पूरा गरी तेस्रो भईन्। खुला पुरुष र महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँसहित पदक र प्रमाणपत्र वितरण गरियो ।
यस्तै, भेट्रान पुरुषतर्फ झापा अर्जुनधाराका जयनरेश सिंह प्रथम, सुनसरी धरानका धनकुमार राई दोस्रो र उर्लाबारीका हेमन्त लावती तेस्रो भए । भेट्रान महिलातर्फ धरानकी जमुना लिम्बू प्रथम, उर्लाबारीकी चेतनु रार्ई दोस्रो र उर्लाबारीकै मञ्जु लिम्बू तेस्रो भईन्। भेट्रानतर्फ पुरुष र महिला दुबै प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपियाँसहित पदक र प्रमाणपत्र वितरण गरियो ।
यसैगरी, १६ वर्षमुनिका बालबालिकातर्फ ५ किलोमिटर दौडमा बालिकातर्फ भोजपुरकी विनीता राई प्रथम, उर्लाबारीकी पीयूष राई दोस्रो, धरानकी सेहाङ राई तेस्रो र उर्लाबारीकी विनीता तामाङ चौथो भए । विजेताहरूलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपियाँसहित पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।
१२ वर्षमुनिका साढे ३ किलोमिटर दौडमा बालिकातर्फ भोजपुरकी जुडी राई प्रथम, भोजपुरकै रस्मी राई दोस्रो, उर्लाबारीकी मिस्यु धिमाल तेस्रो र उर्लाबारीकी मीना मुर्मु चौथो भइन् । विजेताहरूलाई क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपियाँ पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेलले पुरस्कार तथा नगदसहित प्रमाणपत्र प्रदान गरे ।रनमा देशभरका १ हजार जनाले सहभागिता जनाएका थिए ।