गौरादह नगरपालिकामा चालु खर्चमा अचाक्ली बृद्धि


गौरादह,४असोज ।
झापाको गौरादह नगरपालिकाले चालु खर्चमा अचाक्ली बृद्धि गरेको पाइएको छ । आर्थिक अनुशासनको अनिवार्य भएपनि नगरपालिकाले यसको ठीक विपरित चालु खर्चमा फजुल खर्च वढाएको पाइएको हो ।
तुलनात्मक रुपमा आन्तरिक आयस्रोत धेरै भएको दमक नगरपालिकाको भन्दा दर्जन बढी प्रशासनिक खर्च शीर्षकमा गौरादहले अचाक्ली बजेट बिनियोजन गर्नुले गौरादहको आर्थिक सुशासन माथि प्रश्न उठेको छ ।
गौरादह नगरपालिकाले चालु आर्थिक बर्ष २०७९ र ८० को दशौँ नगरसभाबाट बिनियोजित ७८ करोड ४ लाख बजेट बिनियोजन गरेकोमा ४७ करोड १५ लाख ९९ हजार चालु प्रशासनिक खर्चमा बिनियोजन गरेको छ । पूँजीगत विकास खर्च भने ३० करोड ८८ लाख मात्र बिनियोजन भएको छ । चालु खर्चको तुलनामा विकास बजेट बिनियोजन न्यून हुँदै गइरहेको छ ।
जसअनुसार पदाधिकारीको वैठक भत्ता, पदाधिकारीको अन्य सुविधा, सञ्चार महशुल, नगरसभा खर्च, पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशन खर्च, सूचना प्रणाली तथा सफ्टवेयर खर्च, अन्य सेवा शुल्क, घरभाडा, भ्रमण खर्च लगायतका खर्चमा गौरादह नगरपालिकाका जनप्रतिनिधिहरुले दमकको भन्दा बढी खर्चालु भएको पाइएको छ ।
गौरादह नगरपालिकाले अन्य सेवा शुल्क शिर्षकमा ५० लाख रुपैयाँ बिनियोजन गर्दा दमक नगरपालिकाले २ लाख मात्र बिनियोजन गरेको छ । घरभाडमा गौरादहले २५ लाख रुपैयाँ बिनियोजन गर्दा दमकले १० लाख २० हजार बिनियोजन गरेको छ । सुचना प्रणाली तथा सफ्टवेयर संचालन खर्चमा गौरादहले ३० लाख रुपैयाँ बिनियोजन गर्दा दमकले १० लाख बिनियोजन गरेको छ ।
सेवा तथा परामर्श शिर्षकमा गौरादहले ३० लाख बजेट बिनियोजन गर्दा दमकले २४ लाख बिनियोजन गरेको छ । पदाधिकारी बैठक भत्ता शिर्षकमा गौरादहले ३० लाख बिनियोजन गर्दा दमकले २४ लाख बिनियोजन गरेको छ । पदाधिकारी तथा अन्य सुबिधा शिर्षकमा गौरादहले १ करोड ५ लाख बिनियोजन गर्दा दमकले ९३ लाख ७२ हजार बिनियोजन गरेको छ । अन्य भत्ता शिर्षकमा गौरादहले ५ लाख बिनियोजन गर्दा दमकले ४ लाख बिनियोजन गरेको छ । संचार महसुलमा गौरादहले १२ लाख बिनियोजन गर्दा दमकले ६ लाख बिनियोजन गरेको छ ।
यसैगरि पत्रपत्रिका छपाई तथा सुचना प्रकाशन शीर्षकमा गौरादहले ४० लाख बिनियोजन गर्दा दमकले १६ लाख बिनियोजन गरेको छ । बिमा तथा नबिकरण शिर्षकमा गौरादहले १० लाख बिनियोजन गर्दा दमकले ७ लाख बिनियोजन गरेको छ । सरसफाइ शिर्षकमा गौरादहले ५ लाख बिनियोजन गर्दा दमकले २ लाख बिनियोजन गरेको छ । भ्रमण खर्चमा गौरादहले १५ लाख बिनियोजन गर्दा दमकले १२ लाख बिनियोजन गरेको छ ।

सभा संचालन खर्च शिर्षकमा गौरादहले १५ लाख बिनियोजन गर्दा दमकले ८ लाख बिनियोजन गरेको छ । सवारीसाधन तथा मेसिनरी औजार भाडा शिर्षकमा गौरादहले १० लाख बिनियोजन गर्दा दमकले ७ लाख २० हजार बिनियोजन गरेको छ । मेसिनरी तथा औजार खर्च शिर्षकमा गौरादहले १० लाख बिनियोजन गर्दा दमकले ९ लाख बिनियोजन गरेको छ ।
जनप्रतिनिधिको भत्ता, इन्धन र दैनिक कार्य सञ्चालनमा लागि छुट्याउने चालु खर्चको दर आकाशिँदै जाँदा गौरादहको विकास खर्च दर भने त्यसअनुरुप बढेको पाइँदैन । नगरपालिकाको १० औं नगरसभाले नीति तथा कार्यक्रम मार्फत वडा सिलिङ बजेट घटाई विकास बजेट केन्द्रिकरण गरेर मुख्य योजना नगरबाट गर्ने लक्ष्य लिएको थियो । त्यसको ठीक बिपरित नगरपालिकाले चालू खर्चमा बढी बजेट बिनियोजन गरेर नितिगत भ्रष्टाचार गर्ने बाटो खोलिदिएको छ ।
पारित नीति तथा कार्यक्रमलाई हेर्दा कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको थियो । नीति तथा कार्यक्रमलाई हेर्दा हर्षित भएका नगरबासीहरु बजेटले फजुल खर्चलाई प्राथमिकता राख्दा निराश भएका छन्। नयाँ जनप्रतिनिधिको नगरपालिकामा आगमन सँगै बिकासको गतिले तिब्रता पाउने आशामा रहेका नगरबासीहरुको सपना पनि धोका हुने देखिएको छ ।
गौरादह नगरपालिकाभन्दा दमक नगरपालिका ३३ बर्ष जेठो मात्र आन्तरिक आयस्रोत भएको बलियो नगरपालिका हो । दमक नगरपालिकामा गौरादहभन्दा बढी सवारीसाधन, जनप्रतिनिधि र वडाहरु रहेका छन् । चालू खर्च तर्फ फजुल खर्च हुने एक दर्जन बढी शिर्षकमा दमक भन्दा गौरादहले बढी बजेट बिनियोजन गरेर जनप्रतिनिधिहरुले आफूलाई मितव्ययी नभएको पुष्टी गरेका छन् ।

Leave a Reply

Your email address will not be published.