दमक, २ असोज । दमक नगरपालिकाको सूचना र निर्देशनलाई बारम्बार स्थानीय सहकारी संस्थाहरूले अटेर गर्ने गरेका पाइएको छ। नगरपालिकाले तोकिएको ढाँचामा आफ्नो विवरण नियमित रूपमा सहकारी शाखामा बुझाउन पटक पटक निर्देशन जारी गरे पनि सोको कार्यान्वयन गर्न अटेर गरिआएका छन् ।
दमक नगरपालिकाको सहकारी शाखाका प्रमुख इच्छाराम चम्लागाईंका अनुसार तालिम तथा सहकारीसम्बन्धी कार्यक्रममा सहभागिता पनि नजनाउने र विवरण पनि पेस नगर्ने गरेको अवस्था छ । स्थानीय तहमातहत सहकारी र यहाँ रहेका सेवा केन्द्रले समेत अनिवार्य रूपमा नियमित विवरण पेस गर्नुपर्ने हुन्छ।दमक नगरपालिकाले २०७५ सालमा नै सहकारी ऐन ल्याएको थियो। यसको पूर्ण कार्यान्वयन भने अहिलेसम्म हुन सकेको छैन्।
नपामा विवरण पेस नगर्ने र निर्देशन पालना नगर्ने सहकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी नगरपालिकाले गरेको छ। ऐन २०७५ सालमा ल्याए पनि नियमावली भने २०८० सालमा मात्र ल्याइएको छ।
नगरपालिकाले साउन र भदौमा सहकारी संस्थाहरूलाई सूचीकृतका लागि सार्वजनिक सूचना र निर्देशन जारी गरेको थियो। प्रदेश सरकार र सङ्घीय सरकारको नियमन क्षेत्राधिकारभित्र रही दमक नगर क्षेत्रभित्र मुख्य कार्यालय वा सेवा केन्द्र भएका सहकारी संस्थालाई सूचीकृत गर्न भनिए पनि २० प्रतिशत सहकारी संस्था पनि सूचीकृत नभएको सहकारी शाखा स्रोतले जनाएको छ।
संस्था दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, कार्यक्षेत्र र सेवा केन्द्र उल्लेख भएको विनियमको पानाको प्रमाणित प्रतिलिपि, सञ्चालक समिति, व्यवस्थापक,सेवा केन्द्र प्रमुखको सम्पर्क नम्बर, नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिसहित तीनपुस्ते विवरण, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन र साधारण सभाको निर्णयको प्रमाणित प्रतिलिपि नगरपालिकाले माग गरेको थियो।