आत्महत्या रोक्न दमकमा सचेतना अभियान

दमक, ३ असोज। झापामा दैनिकजसो आत्महत्याका घटना हुन थालेपछि यसको रोकथामका लागि सचेतना अभियान सुरु गरिएको छ ।आइतबार जिल्लाको दमकमा जिल्लाका सरकारी निकाय, विद्यालय, सामाजिक सङ्घसंस्थालगायतको सहभागितामा सचेतना रयालीको आयोजना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको संयोजनमा रयाली भएको हो ।

सो रयालीपछि भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले जिल्लामा आत्महत्याको दर भयावह रूपमा बढिरहेको बताए । “यो नियन्त्रणका लागि सामूहिक प्रयास र सबैको सहयोग आवश्यक छ,” उनले भने। जीवनको मूल्यको विषयमा विद्यालयदेखि लिएर समुदायसम्म यस विषयमा सबैले चासो दिनुपर्नेमा उनले जोड दिए । “स्थानीय सरकारले नीति तथा कार्यक्रम बनाउँदा र बजेट छुट्याउँदा यस विषयमा सोच्नु प¥यो,” रिजालले बताए । दमक नगरपालिकाका प्रमुख राम थापाले मानिसको ज्यान बचाउने काममा नगरपालिकाले पनि आवश्यक कदम चाल्ने बताए । “आर्थिक अवस्था कमजोर भएका कारण आत्महत्या गर्ने क्रम पनि बढेको पाइएको छ,” उनले भने ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले आत्महत्या अहिले ठूलो समस्याका रूपमा देखा परेको बताए । एकै ठाँउमा एकै पटक तीन जना किशोरीले समेत जिल्लामा आत्महत्या गरेको भन्दै उनले यस्तो दिनको अन्त्यका लागि सामूहिक र सामाजिक प्रयास आवश्यक रहेको औल्याए।

कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले झापामा गत वर्ष आत्महत्या गर्नेमा १६ वर्ष उमेरभन्दा कमका छ प्रतिशत रहेको जानकारी दिए । साथै आत्महत्या गर्नेमा ६८ प्रतिशत १६ देखि ६० वर्षभित्रका छन् भने १६ प्रतिशत ६० प्रतिशतभन्दा माथिका पाइएको उनले उल्लेख गरे ।
अघिल्लो आर्थिक वर्षमा जिल्लामा तीन सय ११ जनाले आत्महत्या गरे । यो आर्थिक वर्षको भदौ १५ अर्थात् डेढ महिनाको अवधिमा २९ जनाले आत्महत्या गरेको पाइएको छ । मानसिक रोग भएका बिरामीमा आत्महत्याको जोखिम धेरै हुने सो अवसरमा बताइएको थियो । यसैगरी जीवनप्रतिको नैराश्यतालगायतका कारण आत्महत्या हुने गरेको बताइएको छ । आत्महत्या गराउन सक्ने तरिकामा पहुँच घटाउने कार्यमा जोड दिइएको छ । मानसिक समस्या भएका बिरामीको उपचार गर्ने कुरा ढिला गर्नु नहुने सुझाव पनि दिइएको छ ।

Leave a Reply

Your email address will not be published.