विराटनगर, २ असोज । प्रदेश १ सरकारले शहीद परिवारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेश आन्दोलन र आदिवासी जनजाति आन्दोलनलगायतको क्रममा शहादत प्राप्त गर्नेका परिवारलाई स्वास्थ्य उपचार रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठकले भूमिहीन, गरिब र सुकुम्बासी वर्ग उत्थान सहयोग तथा तालिम सञ्चालन गर्ने कार्यविधि, २०७९ , सहकारी क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने कार्यविधि, २०७९ पनि बैठकले स्वीकृत गरेको छ ।
बैठकले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छm ।
प्रदेश मन्त्रिपरिषद् बैठकले उद्योग, श्रम तथा रोजगार मन्त्रालयद्वारा प्रस्तुत अस्थायी कर्मचारीहरूको म्याद सम्बन्धमा र कृषि मन्त्रालयद्वारा प्रस्तुत प्रदेश खाद्य परिषद्को गठन र कार्य सञ्चालन सम्बन्धमा पनि निर्णय गरेको प्रदेश सञ्चारमन्त्री घिमिरेले जानकारी दिए ।
त्यसैगरी बैठकले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा प्रस्तुत होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ र स्रष्टा सम्मानसम्बन्धी कार्यविधि, २०७९ पनि स्वीकृत गरेको बताइएको छ ।
बैठकले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयद्वारा प्रस्तुत प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०७९ र पत्रकारिता छात्रवृत्तिसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसैगरी पाँचथर र तेह्रथुममा रहेको जिल्ला अस्पतालको स्तरोन्नति गर्ने प्रस्तावलाई पनि बैठकले स्वीकृति दिएको छ ।