झापामा पहिचानको लागि युवा दस्ता गठन , संयोजकमा पालुङवा

दमक,३१ भदौं । झापा जिल्लामा १५ सय १ जनाको पहिचानको लागि युवा गठन भएको छ ।प्रदेशको नाम कोशी खारेजीको आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउने भन्दै सामी पालुङ्वाको संयोजकत्वमा १५ सय १ सदस्यीय पहिचानका लागि युवा दस्ता घोषणा गरिएको हो ।
विर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा शनिवार आयोजित घोषणा सभामा प्रदेश नं. पुनः नामाङकन संयुक्त संघर्ष समिति झापाका संयोजक समेत रहेका सभाध्यक्ष पाण्डवलाल चौधरीले पहिचानका लागि युवा दस्ता सार्वजनिक गरेका हुन् ।
गठित समितिको सह–संयोजकद्धयमा सुमन सम्बाहाङ्फे, कर्ण राजवंशी ,सदस्य सचिवमा गौरीमान राईलाई जिम्मेवारी तोकिएको छ । घोषणा सभामा चौधरीले कोष इन्चार्ज युवा नेतृत्वको बैठकले चयन गर्ने र झापा जिल्लाका हरेक क्लष्टर मिलाएर सचिवालय गठन हुने समेत घोषणा गरे ।
नेपाल आदिवासी जनजाति महासंघ झापाका उपाध्यक्ष केवलराम राईले स्वागत मन्तव्य राखेको सभामा पहिचानका लागि युवा संघीय संयोजक तथा किरात राई यायोख्खाका केन्द्रीय महासचिव भीम राईले पहिचानका लागि युवा गठन गरिनुको मूल उद्धेश्य र आचार संहिताको बारेमा प्रष्ट्याएका थिए ।जिल्लाका १५ वटा स्थानीय तहबाट सहभागी भएका युवाहरूलाई पहिचानका लागि युवा संघीय सह–संयोजक एबिराज आङ्देम्बेले परेड खेलाएर मार्च पास गराएका थिए ।
घोषणा सभामा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष संघीय समन्वय समिति अध्यक्ष तथा किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो, जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष युवराज जिरेल, नेपाल शेर्पा संघका केन्द्रीय महासचिव लाक्पा शेर्पा, प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, राष्ट्रिय जनमूक्ति पार्टी (७ घटक) का अध्यक्ष केपि पालुङ्वा, पहिचानवादी नेता सञ्जुहाङ पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान प्रान्तीय मञ्चका उपाध्यक्ष ज्ञानु इम्बुङ, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव दिलकुमार लावती, जसपा नेपालका केन्द्रीय सदस्य भिम राई, पहिचानवादी नेता सञ्जुहाङ् पालुङवा, मेचे सिवियारी अफातका केन्द्रीय उपाध्यक्ष अग्निमाया मेचे लगायतले पहिचानका लागि युवा दस्ताको महत्व माथि प्रकाश पारेका थिए ।
यसैगरि, नेपाल आदिवासी जनजाति महिला महासंघ केन्द्रीय सचिव सनम राजवंशी, धिमाल जातीय विकास केन्द्रमा केन्द्रीय उपाध्यक्ष तथा जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमाल, नेवा देयः दबु प्रदेश सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ झापाका पूर्व अध्यक्ष भरतकुमार श्रेष्ठ, नेकपा माओवादी झापा जिल्ला इन्चार्ज अग्नि आचार्य लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि वक्ताहरूले प्रदेशको नाम कोशी खारेज नभइन्जेलसम्म आन्दोलन गरिरहने मूल उद्धेश्यका साथ पहिचानको लागि युवा प्रदेश नं. १ अन्तर्गतका १४ वटै जिल्लामा गठन गरिने उद्घोष गरे ।
सभामा वक्ताहरुले गएको चुनावमा सत्ताधारी राजनैतिक दलका प्रतिनिधीहरूले पहिचानको आन्दोलनबाट उठेका आवाजलाई सम्बोधन नगरी राज्य दमनमा उत्रेको बताएका थिए । उनीहरुले पहिचान स्थापित नगरेसम्म मुलुक नराम्री द्वन्द्वमा फस्ने र शान्तिपूर्ण आन्दोलन क्रान्तिमा बदलिने चेतावनी दिँदै पहिचानको लागि युवा गठन वडा वडासम्म पुर्याएर पहिचानको आन्दोलनको शक्तिको रूपमा गठित युवालाई मुलुकमा भइरहेको भ्रष्टचार, विकृति, विसंगती विरूद्धको कार्यमा अग्रसर गराउँदै भावि दिनको लागि नेतृत्वदायी भूमिकामा एक जिम्मेवार, वफादार, इमान्दार र समाजको एक कुशल सिपाहीको रूपमा स्थापित गराउने समेत जोड दिए ।यसअघि भदौ २६ गते समेत पहिचानवादीहरुले जिल्लाको हल्दिवारीमा १०१ जनाको युवा दस्ता गठन गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published.