दमक,१ असोज । झापाको दमक १० मा आज शनिवार मुटु, मृगौला, मधुमेह र उच्च रक्त्तचाप ( केएचडीसी) परीक्षणका लागि १ सय ५० जनाको नमुना संकलन गरिएको छ ।दमक नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको संयोजनमा दमक १० का स्थानीय १ सय ५० जनाको रगत, पिसाबको नमुना संकलन गरिएको हो । धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सकहरुको प्राबिधिक सहयोगमा नदेखिएका जटिल प्रकृतिका बिरामीहरुको पहिचान गरि समयमानै स्वास्थ्यलाभ लिन सहयोग पुगोस भन्ने उदेश्यले नमुना संकलन गरिएको कार्यक्रमका संयोजक घनश्याम कोइरालाले बताए ।
रेडक्रस दमकका अध्यक्ष प्रकाश बुढाथोकीले समुदाय स्तरमा स्वस्थ्य सम्बन्धी जनचेतना जगाउदै त्यस सम्बन्धी संभावित जोखिमलाई कम गर्न दमकमा यस किसिमका कार्यक्रमको सञ्चालन गरिदै आएको बताए ।
उनका अनुसार ती संकलित नमुनाको परीक्षण दमक अस्पतालमा गरिने छ । परीक्षणबाट प्राप्त नजिजाको बिपी प्रतिष्ठानबाट आउने सम्बन्धित विषयका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण तथा सल्लाह सुझाब दिइने आयोजकले जनाएको छ ।