मेचीनगर,३१ भदौं । इलाका प्रहरी कार्यालय काँकड्भिट्टाले ४२ वर्षपछि सुविधा सम्पन्न नयाँ भवन प्राप्त गरेको छ । नवनिर्मित भवनको शुक्रबार १ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले उद्घाटन गरे ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको २ करोड ८३ लाख ३४ हजार ६ सय ४१ रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।२०७५ साल चैत १९ गते त्तत्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले भवनको शिलान्यास गरेका थिए ।
सुविधा सम्पन्न अढाई तले र २२ कोठे पक्की भवनको निर्माणका याक्थुङ्गहाङ एसएएस पुस्कर जे÷भी निर्माण कम्पन्नीसँग ठेक्का सम्झौता भएको थियो ।२०७६ बैशाख २ गते सम्झौता भएर २०७७ बैशाख १९ गते निर्माण कार्य सम्पन्न गर्ने उल्लेख भएपनि विविध कारण समयमै भवन निर्माण सम्पन्न हुन नसकेको उद्घाटनका क्रममा प्राविधिक प्रहरी उपरीक्षक इञ्जिनियर अनिल राणाले भवनको प्राविधिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा बताए ।
उद्घाटनका क्रममा मन्त्री कार्कीले काँकरभिट्टा नाका टेक्ने वित्तिकै अपराधिले खुट्टा कमाउनुपर्ने र सर्वसाधारणले अब सुरक्षित स्थान आइपुगे भनेर खुशीले गदगद हुँदै छाती फुलाउनुपर्ने भन्दैं यसतर्फ स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए । इलाका प्रहरी कार्यालय काँकरभिट्टा अन्य प्रहरी कार्यालयभन्दा निक्कै महत्वपूर्ण र विशिष्ट नाका भएको मन्त्री कार्कीको भनाई थियो । नेपाल भारत सीमावर्तीक्षेत्रमा हुने चोरी, तस्करी,रोकथाम नियन्त्रण गर्नु, शान्ति सुरक्षा अमन चयन कायम गर्नु, अपराध नियन्त्रण र अनुसन्धान गर्नु, समाजमा शान्ति सुब्यवस्था कायम गर्नु यस सुरक्षाकर्मीको कार्यालयको मुख्यः दायित्व र जिम्मेवारी रहेको मन्त्री कार्कीले स्पष्ट पारे ।
सुरक्षाकर्मी सुरक्षित भए मात्र सर्वसाधारणले सुरक्षा प्राप्त गर्न सक्ने भएकाले प्रहरीको गास, वास र कपासको सुरक्षाकालागि हामी सवै लाग्नुपर्ने उनको तर्क थियो । ‘ कसैले दाल चिनि र चामल अबैधरुपमा अयात गर्दा यसले खासै ठूलो नोक्सानी राज्यले व्यहोर्नु पर्दैन्’ मन्त्री कार्कीले भने —‘तर, थोरै मात्रामा भित्रिएको लागुऔषधले हाम्रो समाज, परिवार र देशनै खत्तम पारिदिन्छ । झापाको नाकाबाट काठमाण्डौं पुगेको ब्राउन सुगरले देश र भावी पुस्तानै सखाप पार्छ । ’
प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तोले सञ्चालन गरेको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले मेचीनगर नगरपालिकाका १ देखि ८ नम्बर वडाहरु, यस कार्यालयको प्रत्यक्ष जिम्मेवारी क्षेत्र रहेको बताउँदैं मेचीनगर नगरपालिकाका ९ देखि १५ नम्बर वडा, बुद्ध शान्ति गाउँपालिकाका सम्पूर्ण वडाहरु इलाका प्रहरी कार्यालय धुलावारीको प्रत्यक्ष जिम्मेवारी क्षेत्र रहेको स्पष्ट पारे।
कार्यालयमा प्रहरी दरबन्दी भने २ सय १० मात्र छ । यस कार्यालयमा सक्रिय प्रहरीलाई यो जनसंख्या भाग लगाउँदा एकजना प्रहरीको भागमा ८ सय ७८ जना पर्दछ, अथवा एकजना प्रहरीले ८ सय ७८ जनालाई सुरक्षा प्रदान गर्नुपर्ने अवस्था छ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका ज्यूदौँ इतिहास ८६ वर्षीय पूर्व प्रहरी हवल्दार वृखबहादुर गुरुङलाई सम्मान गरिएको थियो । सोही अवसरमा पूर्व प्रहरीका विभिन्न पदका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलगायतले अहिले पनि यस कार्यालयमा निक्कै काम बाँकी रहेकाले यसलाई पूर्णता गरिदिन मन्त्री समक्ष आग्रह गरे ।
कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला, १ नम्बर प्रदेशसभा सदस्यहरु श्रीप्रसाद मैनाली, राधा थापा, मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, निवर्तमान नगरप्रमुख विमल आचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा आर्याल, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि सरकारी र गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिसहित उद्योगी, व्यवसायी, सञ्चारकर्मी, अधिकारकर्मीलगायत सर्वसाधारणको उपस्थिति थियो ।