झापा, ३१ भदौं । विद्यमान सम्बैधानिक तथा कानुनी प्रावधानसम्बन्धी विज्ञबाट आजदेखि झापामा प्रशिक्षण शुरु भएको छ । निर्वाचित जनप्रतिनिधिलाई कलबलगुरीको प्रदेश प्रशिक्षण केन्द्रले १४ जिल्लाका जनप्रतिनिधिमध्ये प्रमुख र उपप्रमुखलाई एकै थलोमा राखेर प्रशिक्षण प्रदान गरेको थियो भने हाल वडाध्यक्षका लागि सम्बन्धित जिल्लामै तालिम सञ्चालन गरेको हो ।
केन्द्रका निर्देशक विष्णुकुमार कार्कीले आजदेखि झापामा सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै ११ जिल्लाका वडाध्यक्षलाई यसअघि नै उक्त तालिम प्रदान गरिएको बताए । तीन दिनसम्म चल्ने तालिममा जिल्लाका एक सय ३१ वडाका वडाध्यक्ष सहभागी भएका छन् । उनले वडाध्यक्षको भूमिका सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण हुने हुँदा उनीहरुले गर्ने काममा कानुनी अड्चनका कारण समस्या नहोस, काम, कर्तव्य र अधिकार क्षेत्रका बारेमा स्पष्ट भएर काम गर्न सहज होस भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । जन्मदेखि मृत्युसम्मको सिफारिसको जिम्मा वडाध्यक्षलाई हुने भएकाले उनीहरुलाई जिम्मेवार, सामाजिक सुरक्षा, योजना तर्जुमा, कार्यालय व्यवस्थापन, अनुगमन र उपभोक्तासँग गरिने कार्यका बारेमा आवश्यक पर्ने कानुनलगायत १२ वटा विषयमा प्रशिक्षण प्रदान गरिने उनको भनाइ थियो ।
जिल्ला समन्वय समितिको संयोजनमा आयोजित कार्यक्रममा एक सय ३१ वडाध्यक्षलाई तीनवटा सभाकक्षमा राखेर प्रशिक्षण दिन थालिएको छ । उक्त समितिका संयोजक विश्वनाथ बरालले तालिमले जनप्रतिनिधिको व्यक्तित्व विकाससँगै कार्यक्षमतामा समेत वृद्धि गराउने जनाउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरे । आजदेखि सुरु भएको तालिम असोज २ गतेसम्म चल्नेछ ।