
पर्शुराम रिजाल- नेपाली कांग्रेसको आसन्न दमक नगर अधिवेशनमा सभापति पदका प्रत्यासी हुन । कांग्रेसको राजनीतिमा सैद्धान्तिक तथा बैचारिक बहसका लागि क्षमता राख्ने युवा नेता रिजाल १३ औं अधिवेशनमा पनि नगर सभापतिका प्रत्यासी थिए ।
वर्तमान पार्टी सभापति रोशन विष्टसंग झिनो मतान्तरले पराजित व्यहोरेको उनी पार्टी संगठनका गतिविधिहरुमा उत्तिकै सक्रिय रहदैआएका छन् । दमक नगरमा कांग्रेसको गिर्दो साखलाई फर्काउँदै संगठन सवलीकरणमा योगदान दिन सशक्त टिमसहित नगर नेतृत्व चयनको निर्वाचनमा होमिएको उनको तर्क छ । नेविसंघ झापाका पूर्व सभापति रिजाल कांग्रेसलाई एकतावद्ध बनाउन आफनो टिमलाई नेतृत्वमा स्थापित गराउन आग्रह गरिआएका छन् । प्रस्तुत छ दमक : ९ निवासी सभापतिका प्रत्यासी रिजालसंग गरिएको कुराकानीको ।
……………………… ……………………………. ……………………………………………
चुनावी दौडधुप कतिको लागिरहेको छ ?
कांग्रेसको अधिवेशन हो धेर थोर त लागिहाल्छ । सबै साथीहरु टिम बनाएर चुनावी मैदानमा हुनुहुन्छ । कांग्रेसमा एकता र रुपान्तरणका निम्ति पनि यो महाधिवेशन सफल बनाउनु हामी कांग्रेस कार्यकर्ताहरुको जिम्मेवारी भित्र पर्ने भएकाले यसको प्रकृयामा प्रवेश गरिएको हो ।
कांग्रेसको १४ औं महाधिवेशनमा कार्यकर्ताहरुको अपेक्षा के छ ?
आम नेपाली कांग्रेसका नेता, कार्यकर्ता ,शुभचिन्तक जो वडा तह ,पालिका तहमा वस्नुहुन्छ । उहाँहरुलाई सत्ताको लोभ पनि छैन ,कुनै पद प्राप्त गरौला भन्ने आश पनि छैन । उहाँहरु नेपाली कांग्रेस एकढिक्का भएको, मजबुत भएको र राष्ट्र निर्माणमा लागिपरेको हेर्न चाहानुहुन्छ । त्यसका लागि १४औ महाधिवेशनलाई हामी सबैले मिलेर एकताको महाधिवेशनका रुपमा वडा देखि नै संगठित बनाउनु पर्छ । महाधिवेशनमा पार्टी भित्र बैचारिक , नीति तथा भावी कार्यक्रमका बारेमा बहस छलफल हुनु जरुरी छ । नेतृत्व बैचारिक रुपमा परिबर्तन हुन जरुरी छ । नागरिकले सुख दुःखमा खोज्दा भेटिने सबल र सक्षम कांग्रेसको नेतृत्व चयन कार्यकर्ताहरुको अपेक्षा हो भन्ने मलाई लाग्छ । बैचारिक बहसको क्षमतासहित युवाहरु नेतृत्वमा आक्रामक रुपमा जोशिलो साथ र उपस्थिति भए मात्र नागरिक र कार्यकर्ताको अपेक्षा पूरा हुनेछ भन्ने लागेको छ ।
तपाइँको उम्मेदवारी चाहिं किन ?
म नेपाली काङ्ग्रेसको दमकको अबस्थालाई सदृढ बनाउन जित हारको बिषयलाई भन्दा सबैले जित्ने अबस्था कसरी बनाउन सकिन्छ भन्ने प्रमुख चिन्ता लिएर उम्मेदवारका रुपमा उभिएको छु । नेतृत्व मा आएर काङ्ग्रेसको संगठनलाई आपसी बिश्वास र पारस्परिक सहकार्यबाट मजबुत बनाउन चाहान्छु । पार्टीलाई पुर्णरुपमा विधि बिधान अनुसार सुसंगठित रुपमा सबलिकरण गर्न चाहान्छु । एक व्यक्ति– एक पद, एक नेता एक– उद्यमशीलतालाई नगर क्षेत्र भित्र व्यवहारमा कार्यान्वयन गराउने छु । कुनै पनि ब्यक्ति पार्टीको कार्यक्रम भन्दा महान हुन सक्दैन । गुणस्तरीय कार्यकर्ताले गुणस्तरीय नेतृत्व खोज्ने हँुदा त्यस तर्फ विशेष चासो राखेर बडागत रुपमानै संगठनको सबलिकरणलाई अभियानको रुपमा सञ्चालन गरि नेपाली काङ्ग्रेसलाई सांगठनिक रुपमा एकताबद्द र जुझारु बनाउनका लागि मेरो उम्मेदवारी हो । मेरो कार्यकालमा संगठन बलियो र बैचारिक रुपमा सक्षम र दक्ष बनाई प्रतिस्पर्धामा खरो रुपमा उतार्ने ,बडा देखिनै “गुट र नोट रहित भोट– निर्वाचन जित्ने अठोट “ लिइनेछ । पार्टीमा अग्रजहरुलाई सम्मान गर्दै ,युवाहरुको जोशलाई बिना पुर्वाग्रह अवसरहरु प्रदान गर्दै अगाडी बढाउने छु ।
महिला,शिक्षक ,बिद्यार्थी ,तरुण बुद्धिजीवी प्रध्यापक,श्रमजिबि, वकिल र पत्रकारहरुको योग्यता र सक्षमताको पार्टीमा भरपुर उपयोग गर्ने नीति भित्रयाइनेछ छ । हाल बिकास निर्माण र सुशासनको क्षेत्रमा देखिएको राजनीतिकरण र अनियमिततालाई जरै देखि हटाइनेछ । दमक नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको हस्तक्षेप र स्वास्थ्य क्षेत्रमा गरेको एकलौटी एकाधिकारका विरुद्ध आवाज बुलन्द गर्दै आम नगरवासीहरुको हित र सम्मानका पक्षमा महसुस हुने गरि काम गर्ने मेरो अर्को प्रतिबद्धता हो ।
म गत अधिनेशनमा नगर सभापति भएको भए १४ औं अधिबेशनमा पार्टीको कुनै माथिल्लो तहमा हुने थिए । तर म १३ औमा उपबिजेता बनें । आम अग्रज एवं सहकर्मी साथीहरूको सल्लाह बमोजिम नगर सभापति पदमा प्राकृतिक उम्मेदवार भएको कारण म आएको छु ।
स्थानीय चुनाव पनि सन्मुुखमा आएको कारण पार्टीको नेतृत्वका लागि दाबी गर्ने बढेका हुन ?
अरु साथीहरु कुन उद्धेश्यले उम्मेदवार बन्नु भएको छ त्यो म भन्न सक्दिन । म संसदीय निर्वाचनमा कार्यकाल भरी कुनैपनि तह वा पदमा दाबी गर्ने छैन । कांग्रेस काङ्ग्रेस बिच सृजना भएको अबिश्बासलाई चिर्दै अगाडि बढनेछु । एक ब्यक्ति एक पद एक कार्यकाल मात्रै पार्टीमा रहने हो । यसले भावी नेतृत्वले समेत कांग्रेसमा निराश बन्नु पर्दैन । चुनाब आउँदा मात्रै जागरुक हुने नभई ३६५ दिननै सक्रिय काङ्ग्रेसको निर्माणमा जुटनेछु । म वडादेखि नै कार्यकर्ता र नेताको ब्यबस्थापन गर्दै मेरा सहयात्री र प्रतिस्पर्धी देखिनु भएका साथीहरुलाई बिश्बासमा लिएर अगाडी बढने छु ।
चुनावी दौरानमा कस्तो पाउदै हुनुहुन्छ ? तपाइँको पक्षमा चुनावी परिणाम आउला ?
हुन त यो हाम्रो पार्टीको आन्तरिक मामिलाको बिषय हो । मैंले यसलाई चुनावी प्रतिस्पर्धा भन्दा पनि चुनावी प्रकृयाका रुपमा लिएको छु । हाम्रो टिम साधारण तरिकाबाट तर दह्रो रुपमा खटिएको छ । हामीले यसलाई विपक्षी दलसंगको चुनावी प्रतिस्पर्धाका रुपमा पटक्कै लिएका छैनौं । एकाध ठाउँमा पुग्दा कार्यकर्ताहरुबाट हाम्रो टिम इतरका साथीहरुको चुनाव अलि भडकिलो भयो कि भन्ने गुनासो पनि आएको छ । यसतर्फ हामी सबैले जिम्मेवार भएर सोच्नुपर्ने समय आएको जस्तो मलाई लाग्छ । हामी निकट भविष्यमा विपक्षी दल त्यसमा पनि नेकपा एमालेसंगको खरो प्रतिस्पर्धामा स्थानीय निर्वाचन पनि लडनु पर्ने तयारीमा बस्नुछ । त्यसकारण सबै शक्ति अहिले हामी हामीबीचको चुनावमा खर्चिनु हुँदैन भन्ने मेरो बुझाई छ र त्यसै अनुसार हाम्रो टिमले चुनावी तयारी गरिरहेको छ । कार्यतालिका संशोधन नभएको भए हामीबीचमा आज नगर अधिवेशनको परिणाम आइसकेको हुन्थ्यो तर पार्टी केन्द्रबाट नै कार्यतालिका संशोधन भएर ९ असोजका लागि अधिवेशन तोकिएको हुँदा हामीसंग समय पर्याप्त छ । ३-४ सय मतदाता सहभागी हुने आन्तरिक चुनाव हो त्यसकारण यसको परिणामबारे पनि कोही त्यति धेरै भ्रममा नपरौं । चुनावी परिणाम हाम्रो पक्षमा आउनेछ । जसको पक्षमा भएपनि त्यो एकताबद्ध, सुदृढ र रुपान्तरित कांग्रेस निर्माणको महत्वपूर्ण कडी हुनेछ भन्नेमा म विश्वस्त छु ।