झापा ,३० भदौं । झापामा जेनजीका नाममा भएका निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुको पहिचान भएको भन्दै सामान फिर्ता गर्न अनुरोध गरिएको छ ।
जिल्लाका सरकारी तथा निजी विभिन्न संघ–संस्थाहरुले आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुले सामानहरु बुझाउन सूचनाहरु जारी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गर्नेहरुको पहिचान भइरहेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालप्रसाद अधिकारीले जारी गरिएको सूचनामा लुटपाट गरिएका सामान फिर्ता गर्न आग्रह गरेका छन् । ‘लुटपाटमा संलग्न व्यक्तिहरु र सामग्री लुकाइएका स्थानहरुको पहिचान गर्ने कार्य सीसीटीभी फुटेज, सामाजिक सञ्जाल र टिकटकमा उपलब्ध श्रब्य दृश्यहरु समेतका आधारमा सुरक्षा निकायबाट अनुसन्धान भइरहेको छ’–सूचनामा भनिएको छ ।
सोही क्रममा लुटिएका धनमाल, फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटप, भाँडाकुँडा तथा अन्य विविध सामाग्रीहरूका साथै सुरक्षा निकायबाट लुटिएका हातहतियार र सञ्चार सेटहरू समेतका उपकरण, अन्य सामाग्री तत्काल सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन सूचना जारी गरिएको छ ।
सुख्खा बन्दगाह कार्यालयको पनि सूचना
यसैबीच नेपाल इन्टरमोडल यातायात विकास समितिको काँकरभिट्टा सुख्खा बन्दगाह कार्यालयले यही भदौ २४ गते भएको तोडफोड, आगजनी, लुटपाट तथा चोरीको घटना पश्चात यस कार्यालय र कार्यालयका कर्मचारी तथा अतिथि आवास गृहबाट विभिन्न सामग्री, कागजात तथा नगद लुटपाट र चोरी गरी लगिएको प्रमाण कार्यालयको सिसिटिभी क्यामेराको फुटेज, प्रत्यक्षदर्शीहरुले खिचेको फोटो, भिडियो, सामाजिक सञ्जाल, टिकटक लगायत सञ्चारकर्मीहरुकोमा प्रशारित तथ्यका आधारमा चोरी गरेर लैजाने व्यक्तिको पहिचान भएकाले फिर्ता गर्न अनुरोधसहितको सूचना गरेको छ । यस्तै भन्सार कार्यालयको गोदामबाट पनि सामान चोरी भएको छ ।प्रहरीलाई सम्बन्धीत कार्यालयले दिएको जानकारीका आधारमा लुटपाटमा संलग्नको घरघरमा पुगेर सामान फिर्ता माग्न थालेको छ ।