
दमक,२९ भदौं । कोरोना महामारी कारण लामो समयदेखि बन्द रहेका दमकका विद्यालयहरु अव खुल्ने भएका छन् । कोरोनाको जोखिम केहि कम भएको भन्दै दमक नगरपालिकाले आफ्नो मातहतमा रहेका शैक्षिक सस्थाहरुलाई असोज पहिलो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिए ।
नगरपालिकाले विद्यालय सञ्चालनका लागि दमकमा रहेका निजी विद्यालयका सञ्चालकहरु र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग विद्यालय सञ्चालन सम्बन्धमा सुुझाव मागिएको थियो । सोहि सुझावका आधारमा आज नगरपालिकाको शिक्षा समितिले असोज पहिलो साताबाट भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निणर्य गरेको उनले जानकारी दिए ।
उनका अनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्यविधि २०७७ अनुसार दमकका विद्यालय सञ्चालन गर्ने निणर्य भएको हो । जसमा कोरोनाबाट बच्ने उपायहरु पूर्ण रुपमा पालना गर्नु पर्ने हुन्छ ।
कक्षाकोठामा विद्यार्थी राख्दा अनिवार्य भौतिक दुरी कायम गराउनु पर्ने , मास्कको प्रयोग गराउनु पर्ने, विद्यालयका हरेक कक्षाकोठा अगाडी हात धुने व्यवस्था गरिनु पर्ने , भिडभाड र जम्मा हुन नदिन आलोपालो पद्धतिद्धारा पठनपाठन गराउनु पर्ने लगायतका मापदण्ड पालना गराउन सक्ने विद्यालयहरुले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन गराउन सक्ने न्यौपानेले बताए । यसका लागि नगरपालिकाले निरन्तर अनुगमन गर्ने पनि उनले बताए ।
अनुगमन गर्दा न्यूनतम स्वास्थ्य मापदण्ड पूरा नगरेका विद्यालयलाई बन्द गर्न तत्कालै निर्देशन पनि नगरपालिकाले जनाएको छ । कोरोनाको जोखिमको अवस्था हेरेर कसरी सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने बारेमा विद्यालय आफैले पनि निर्णय लिन सक्ने पनि शाखा प्रमुख न्यौपानेले जानकारी दिए ।