दमक, २९ भदौ । झापाका स्थानीय तहहरूले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन तथा निस्सा वितरण गर्दै चाँडो जग्गाधनी पुर्जा वितरणका लागि कामलाई तीव्रता दिएका छन् ।
दमक नगरपालिकासहित कमल गाँउपालिका, मेचीनगर नगरपालिका, गौरीगन्ज गाँउपालिका, अर्जुनधारा नगरपालिका लगायतको क्षेत्रमा जग्गाधनी पुर्जा वितरणका लागि आवश्यक काम पुरा हुन लागेको बताइएको छ ।
दमक नगरपालिकाका प्रमुख राम थापाका अनुसार १ हजारभन्दा बढिलाई निस्सा वितरण सहित सम्पूर्ण विवरण कम्यूटरमा राखेर जग्गाधनी पुर्जा दिनका लागि तयारीलाई तीव्रता दिइएको छ ।
उनका अनुसार निर्वाचनको आचारसंहिता लाग्नु अगावै जग्गाधनी पुर्जा वितरण गर्ने उद्देश्यले काम भइरहेको छ । सबै वार्डहरूमा लगत सङ्कलनको काम सकिएर त्यसपछिको कामलाई अघि बढाईरहेका छौ, उनले सुनाए ।
दमकको वडा न. १० मा जग्गाको नाँपजाँच समेत सुरु भइसकेको छ । निवेदन अनुसार जग्गा नापी गरेर छुट्याउने कामको सुरुवात भएको र यो सकेपछि पुर्जा वितरण सुरु हुने नगरपालिकाले जनाएको छ । भूमि आयोग झापाले दमक नगरपालिकामा सम्पर्क कार्यालय राखेर नै काम गरिरहेको छ ।
कमल गाँउपालिकाको वडा न. ५ को सिम्लेमा जग्गाधनी पुर्जा वितरणका लागि आवश्यक कामका लागि अपनाउने पर्ने विधि र प्रक्रिया पूरा गरिसकेको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए ।
बारम्बार आयोग गठन हुने र फेरी काम नसकी विघटन हुने भएकाले नागरिकहरूमा निराशा छाएको भन्दै राईले भने, –‘ अब यस्तो नहोस भनेर स्थानीय सरकारले प्राथमिकताका साथ आयोगलाई सघाइरहेको छ । ’
विगतमा गठन भएका सुकुम्वासी समस्या समाधान आयोगले तथ्याङ्क सङ्कलन गरेका करिब ३५ हजार तथा थप २५ हजारभन्दा नयाँ गरेर करिब ६० हजार परिवारलाई पुर्जा वितरण गर्नुपर्ने प्रारम्भिक अवस्था देखिएको र अहिले जिल्लाभर तीव्र रूपमा आयोगले काम अघि बढाएको आयोग झापाका अध्यक्ष तिलक पाण्डेले बताए ।
स्थानीय सरकारले सहयोग गरेकाले कामलाई तीव्रता दिन सहज भएको छ, उनले भने । आयोगले काम थालेको ६ महिनाको अवधिमा ८३ वटा जग्गाधनी प्रमाण पुर्जा वितरण भइसकेको पनि उनले जानकारी दिएको छ । जग्गाधनी पुर्जा वितरणका लागि आवश्यक कामहरु तीव्र रहेको छ, उनले भने ।
६२ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मोरङको कानेपोखरीका ६२ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरेकी छन् ।मन्त्री श्रेष्ठले कानेपोखरी –६ स्थित रमाइलो जन एकता साकोसको सभाहलमा राष्ट्रिय भूमि आयोग मोरङ जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा सो प्रमाणपुर्जा वितरण गरेकी हुन् । कानेपोखरी ६ का १८ परिवार भूमिहीन दलित र ४४ परिवार भूमिहीन सुकुम्वासीलाई धनीपुर्जा प्रमाणपत्र वितरण गरिएको हो ।
मन्त्री श्रेष्ठले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीका वर्षौँदेखिका समस्या समाधान हुन नसकेको बताईन् । यो वा त्यो बहानामा राष्ट्रिय सार्वभौमिकताका विषयमा अविभाज्य रहनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा वैचारिक रूपमा विभाजित हुन नहुने जिकिर गरिन् ।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले कानेपोखरी गाउँपालिकाका समस्या समाधान गर्न सबै दलका प्रतिनिधि एकै ठाउँमा उभिएकाले जग्गाधनी प्रमाणपत्र वितरण सम्भव भएको बताए । मौलिक हकमा व्यवस्था भएको विषयलाई राज्यले क्रमशः सम्बोधन गर्दै जानुपर्ने उनले चर्चा गरे ।
कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङनामको सभापतित्वमा भएको कार्यक्रममा आयोगका केन्द्रीय उपाध्यक्ष नहेन्द्र खड्का, जिल्ला अध्यक्ष सुशीला घिमिरे, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी लगायतले भूमिहीनका समस्या साधनमा जोड दिए ।