पथरीशनिश्चरे , २९ भदौ । मोरङको पथरीशनिश्चरे -२ को रेडस्टार माध्यमिक विद्यालयका विद्यार्थीहरूले बिशेष कार्यक्रमको आयोजना गर्दै बाल दिवस मनाएका छन् ।
आज शुक्रबार ६० औं बाल दिवसको अघिल्लो दिन नै विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै उनीहरूले आ( आफ्नो कविता, गीत गायन , नृत्य, लगायतका प्रतिभाहरू प्रस्तुत गरेका हुन्।
स्कूल क्याप्टेन आराध्य खड्काको अध्यक्षता तथा रेडस्टार माध्यमिक विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि एन तिम्सिनाको प्रमुख आतिथ्यतामा आयोजित सो बाल विशेष कार्यक्रममा विद्यालयका संस्थापक राजु तिमिल्सिना, विजय डाँगी, सहायक प्रिन्सिपल बसन्त मादेन, शिक्षक शिक्षिकाहरू समेत लगायतको उपस्थिति रहेको थियो। कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुले तहगत प्रस्तुतिहरू दिएको सो कार्यक्रममा विद्यार्थीहरुका विभिन्न जोडीले संचालन गरेका थिए।
निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता भएको छ ।
आज पथरीको सिन भिलेज पार्टी प्यालेसमा नगरको आर्थिक वर्ष २०८१-०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर भित्रका सामुदायिक तथा निजी विद्यालयहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा जम्मा २१ वटा विद्यालयहरुले सहभागिता रहेको थियो । नगरपालिकाको आयोजनामा भएको सो प्रतियोगितामा संयोजन महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेलले गरेकी थिइन्।
यसैगरी कार्यक्रममा वडा नं २ का अध्यक्ष नैना राई, वडा नं ३ का अध्यक्ष विजय लिम्बु, कार्यपालिका सदस्य मिना तामाङ, अन्जना दर्जी, राजश्व शाखा प्रमुख तारा प्रसाद ढकाल, शिक्षा शाखा प्रमुख नविन खुलाल, शिक्षा शाखा प्राविधिक विना मिश्र, महिला तथा बालबालिका शाखाकी कर्मचारी सृजना भट्टराई, विभिन्न निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन भोलि विभिन्न नृत्यको साथमा पुरस्कार वितरण पश्चात् गरिने आयोजकले जनाएको छ ।