दमक,२५ भदौ । झापाको दमक नगरपालिकाले आफना ज्येष्ठ तथा शारीरिक रुपमा अपाङगता भएकाहरुलाई लक्षित गरि घरदैलो स्वास्थ्य सेवा कार्यक्रम शुरु गरेको छ ।कार्यक्रम अन्तर्गत नगर भित्रका ९० बर्ष माथिका जेष्ठसहित पूर्ण रुपमा अपाङ्गता भएका नागरिकहरुलाई घर घरमै पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको नगरपालिकाले जनाएको छ ।दमक नगर अस्पतालका बिषेशज्ञ चिकित्सकहरुको सहभागितामा लक्षित समुदायको निशुल्क स्वास्थ्य जाच सुरु गरिएको नगर उप प्रमुख रेगिना भट्टराईले बताईन् ।
उनले बिरामी भए पनि उपचारका लागी अस्पताल धाउन नसक्ने समुदाय र शारीरिक रुपमा अशक्तता भएकाहरु बिरामी भए पनि घरमै बस्नु पर्ने अवस्था हटाउन अभियानका रुपमा यस किसिमको कार्यक्रम सञ्चालन गरिएको बताईन् ।
उनका अनुसार अभियानका क्रममा नगर भित्रका ९० बर्ष माथिका सबै जेष्ठ नागरिक र (क ) बर्गका अपाङ्गता भएका सबैको स्वास्थ्य परीक्षण निशुल्क गरिने र कुनै समस्या देखिए औषधि समेत निशुल्क उपलब्ध गराईनेछ । स्वास्थ्य अभियान सुरु गर्नु भन्दा अघि नगर भित्रका मापदण्ड पुगेका लाभग्राहीहरुको तथ्यांक संकलन गरिएको भन्दै उनले नगर भित्र यस्ता लाभग्राहीको संख्या ४०२ जना रहेको जानकारी दिईन् । ति सबै लाभग्राहीको घर घरमै पुगेर स्वास्थ्य जाँच गरिने उप प्रमुख भट्टराईले बताईन् ।
दमक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण शाहले अस्पतालका बिषेशज्ञ चिकित्सक नेतृत्वको टिमले नगर भित्रका घर घरमै पुगेर सम्ंबन्धित लाभग्राहीहरुलाई उपचार सेवा प्रदान गर्ने जानकारी दिए । विरामीको स्वास्थ्य जाचलाई नियमित रुपमा सेवा उपलव्ध गराउने व्यवस्था मिलाएको उनको भनाई छ ।
उनका अनुसार कार्यक्रमको पहिलो दिन आईतबार दमक वडा नम्बर १ फाल्गुनन्द चौककी १०१ बर्षिया पूर्णमाया लावती, जन्मजात शारीरिक रुपमा अपाङ्गता भएका १३ बर्षिय प्रगिम घिमिरे लगायत ११ जनाको स्वास्थ्य जाँचसहित औषधी वितरण गरिएको छ ।
नगर स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र भटटराईका अनुसार घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत दमकका १० वटै वडामा अस्पतालका विशेषज्ञ स्वास्थ्य टोलीले सेवा पुरयाँउने छन् ।