दमकमा प्रहरी कार्यालय पूर्ननिर्माणमा जुटे उद्योगी,व्यवसायीहरु

दमक,२६ भदौं । दमक उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय पूर्नास्थापनाका लागि पहल थालेको छ । विहिबार संघको आफनै कार्यालयमा व्यवसायीसहित विभिन्न संघसंस्थाहरुविच पछिल्लो उत्पन्न परिस्थतिको समिक्षा गर्दे दमकमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूत दिलाउन इलाका प्रहरी कार्यालय पूर्नास्थापनाका लागि अगुवाई गरिने निर्णय भएको हो ।

गत भदौं २४ गते जेएनजी पुस्ताको आक्रमणबाट दमकमा रहेको इलाका प्रहरी कार्यालय विस्तापित हुन पुगेको थियो । ठुलो संख्यामा प्रहरी कार्यालयमा पुगेका प्रर्दशनकारीहरुले त्यहाँ रहेका प्रहरीलाई कुटपिट गरि प्रहरी भवनहरु, दर्जनौ सवारी साधनहरुमा आगजनी गरेका थिए । आगजनीवाट प्रहरी कार्यालयका पक्की संरचनाहरु क्षतिग्रस्त भएको थियो । त्यस्तै, त्यहाँको हिरासतमा रहेका ५२ जना कैदीवन्दी फरार भएका थिए ।
प्रहरीमाथिको आक्रमणपछि डिएसपी रामप्रसाद तिम्सीनासहितका प्रहरीहरु आत्मसमपर्ण गरि कुटपिट खान बाँध्य भएका थिए । उक्त आक्रमणबाट आधा दर्जन प्रहरीहरु घाईते भएको बुझिएको छ ।

छलफलमा सहभागि व्यवसायीहरुले प्रहरी विस्थापित पछि आफूहरुले असुरक्षित महषुष गर्न बाध्य हुनुपरेको बताएका छन् । उनीहरुले प्रहरीको उपस्थिति विना व्यवसायी मात्र नभएर सिंगो समाज,परिवारनै असुरक्षित हुनु परेकाले अव प्रहरी कार्यालय पूर्ननिर्माण गरि प्रहरीबाट सेवा निर्वाध रुपमा पाउने वातावरण निर्माण गर्न जरुरी भएको औल्याएका थिए ।

छलफल पछि सो भेलाले क्षतिग्रस्त प्रहरी भवन पूर्ननिर्माण गर्न दमकका उद्योगी,व्यवसायीहरुको छाता संगठन दमक उद्योग वाणिज्य संघको अगुवाईमा सरोकारवालाहरु रहने गरि सात सदस्यीय निर्माण समिति गठन गरिएको संघका अध्यक्ष गोपाल गुरागाईले बताए ।
अध्यक्ष गुरागाईका अनुसार आगजनीवाट क्षतिग्रस्त भवन पूर्ननिर्माणमा सवै पक्षंग सहयोगको अपिल गर्नुका साथैं त्यसमा संघले रु ५ लाख उपलव्ध गराईने छ । सातादिन भित्रमै प्रहरीलाई पूर्नास्थापना गराउन भौतिक तथा वातावरणीय अनुकुल निर्माण गरिने उनको भनाई छ ।

छलफलमा जेएनजी आन्दोलनमा ज्यान गुमाएका आन्दोलनकारी र सुरक्षाकर्मीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने तथा आन्दोलनकारी शक्तिको मागलाई सम्बोधन हुने गरि जतिछिटो अन्तरिक सरकार गठन गरि देशलाई सबैधानिक बाटोमा अघि बढाउन सवै राजनीतिक दल, सरोकार पक्षहरु, नागरिक समाज लगायत सवै पक्ष गंभीर हुनुपर्ने निर्णय गरिएको संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले सुरक्षाकर्मीहरुको मनोवललाई उच्च बनाउदैं देश र देशवासीको सेवामा प्रहरीको उपस्थिति बलियो बनाउन पहल थाल्ने तथा नगर भित्र चोरी,डकैती जस्ता अपराधिक कार्य नियन्त्रणका लागि सवै व्यवसायी, टोल बासी एक जुट भएर परिचालित हुन अनुरोध गर्ने समेत निर्णय गरिएको संघका कार्यालय प्रमुख निरज विष्टले बताएका छन् ।

यसैवीच,स्थानीय युवाहरुले आगजनीबाट क्षतिग्रस्त प्रहरी भवन परिषर सरसफाई गरिएको छ । सामाजिक अगुवाहरुको अगुवाईमा क्षतिग्रस्त प्रहरी कार्यालयको सरसफाई गरिएको अभियानमा संलग्न व्यवसायी राजु खड्काले बताए । उनका अनुसार अभियानका क्रममा जेएनजी पुस्ताको आन्दोलनका क्रममा आगजनी गरिएको दमक ५ स्थित आन्तरिक राजस्व कार्यालयको समेत सरसफाई गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published.