दमक,२३ भदौ । दमकको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आइतवारदेखि २६ गतेसम्म इकाईगत १५ औ बार्षिक साधारणसभा शुरु गरेको छ ।
संस्थाको आफनै सभाहलमा औपचारिक रुपमा कार्यक्रम गरि आफनो १५ औ इकाईगत साधारणसभा शुरु गरिएको सहकारीका प्रवन्ध निर्देशक अरुण भण्डारीले बताए । जसअनुसार आइतवार दमक १,८,९ र १० का शेयर सदस्यहरुको सहभागितामा इकाईगत साधारणसभा सञ्चालन गरिएको छ । यसैगरि, भदौ २४ गते दमक ४,५ र ६ का र २५ गते दमक २,३ र ७ वडाका शेयर सदस्यहरुको उपस्थितिमा इकाईगत साधारणसभा सञ्चालन गरिने उनले जनाएका छन् । साधारणसभाको माइन्यूट प्रमाणीकरणसहित समापन भने भदौ २६ गते आफनै सभाहलमा सम्पन्न गरिने संस्थाद्धारा वितरित प्रतिवेदनमा उल्लेख छ ।
सहकारीका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको इकाइगत साधारणसभा उद्घाटनमा संस्थाका अध्यक्ष सापकोटाले संस्थाको तर्फवाट अध्यक्षको प्रतिवेदन,लेखा सुपरिवेक्षणका तर्फवाट संयोजक डिल्लीराम मुखियाले लेखा प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष सापकोटाले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको अवस्था ,अनुमानित बजेटसहित नीति तथा कार्यक्रमहरु प्रस्तावका रुपमा पेश गरेका छन् ।
६ हजार ९ सय ९४ जना शेयर सस्य रहेको सो सहकारीको १७ करोड ६९ लाख ४१ हजार १ सय रुपैया चुक्ता शेयर पूंजी पुगेको छ । त्यस्तै, कुल बचत १ अर्व ७७ करोड ६४ लाख ८२ हजार ८ सय ५८ रुपिया , कर्जा लगानी १ अर्व ७३ करोड ३७ लाख ७१ हजार ७सय ३१, बाह्य कर्जा १२ करोड ३७ लाख २६ हजार ४३ रुपैया रहेको संस्थाले निकालेको प्रतिवेदनमा जनाइएको छ । सहकारीले गएको वर्ष कुल आम्दानी २६ करोड ६० लाख ७४हजार ४ सय १६ रुपैया आर्जन गर्न सफल भएको उल्लेख छ ।