दमक ,२३ भदौ । दमक उद्योग बणिज्य संघले महिलाहरुलाई सीप सिकाएर उद्यमी बनाउन केश श्रृंगार सम्बन्धि तिन महिने तालिम सञ्चालन गरेको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र भद्रपुरको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
तालिमको आज एक कार्यक्रमका वीच व्यवसायिक तथा सीप विकास तालिम केन्द्र भद्रपुरका कार्यालय प्रमुख कृष्णा श्रेष्ठले उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै तालिम केन्द्र प्रमुख श्रेष्ठले महिलाहरुलाई उद्यमशिल बनाउन तालिम केन्द्रले बिभिन्न तालिम सञ्चालन गरेको बताए । तालिम सिकेको दक्ष व्यक्तिले व्यवसाय गर्न चाहेमा स्थानीय तह संगको समन्वयमा आर्थिक व्यवस्थापन गर्न पनि सहयोग गर्ने उनले औल्याए । तालिम सिकेपछि उद्यमी बन्न पनि उनले प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
कार्यक्रमको अध्यक्षता गर्दे दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईंले महिलालाई व्यवसायी तथा उद्यमी बनाउन तालिम सञ्चालन गरिएको बताए । भोलि व्यवसाय सञ्चालन गर्न चाहेमा पनि बाणिज्य संघले सहजीकरण गर्ने उनले प्रतिवद्धता जनाए ।
उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै बाणिज्य संघको तालिम तथा गोष्ठि संयोजक चन्द्र खत्रीले व्यवसायमा महिला सहभागिता बृद्धि गर्न यो तालिम महत्वपूर्ण हुने बताए । संघले यसअघि सञ्चालन गरेको रोजगार मेलामा आएका सीप सिक्न चाहनेहरुलाई दक्ष बनाउन तालिम ल्याईएको उनले बताए । तालिममा २४ जना सहभागि रहेका छन् ।