झापा,२२ भदौं । व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन नारासहितको निजामती कर्मचारी दिवसको अवसर पारेर कर्मचारी मिलन केन्द्र झापाले ब्याडमिन्टन तथा वक्तृत्वकला प्रतियोगिता गरेको छ ।
सरकारी कर्मचारीको अन्तरनिहित क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्य राखेर आज चन्द्रगढीमा आयोजना गरेकोे “सङ्घीय शासन व्यवस्थामा सार्वजनिक सेवा प्रवाह” शीर्षकको वक्तृत्वकला प्रतियोगितामा कनकाई नगरपालिकाका कर्मचारी इन्द्र बजगाइँ प्रथम भएका छन् ।
उनलाई नगद रु १० हजार पुरस्कारस्वरुप प्रमुख अतिथि समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले प्रदान गरे । यसैगरी प्रतियोगितामा द्धितीय हुने मेची भन्सार कार्यालय काँकरभिट्टाका कर्मचारी टीकाबहादुर थापाले नगद सात हजार प्राप्त गरे । केन्द्रले दिवसकै अवसर पारेर यही भदौ १९, २० २१ गते आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताका प्रथम, द्वितीय र तृर्तीय हुनेलाई बुधबार पुरस्कार प्रदान गरेको छ ।
प्रतियोगितामा प्रथम हुने राष्ट्रिय वाणिज्य बैंक विर्तामोडका प्रज्वल ओझा, खगेन्द्र कन्दङवा, द्धितीय हुने नेपाल विद्युत प्राधिकरण दमकका धीरेन्द्र बजगाइँ, टङ्कप्रसाद उप्रेती, तृतीय हुने अर्जुनधारा नगरपालिकाका विपीन लम्साल, हेमराज सेडाइँ र झापा जिल्ला अदालतका वीरेन्द्र बस्नेत र रामचन्द्र बस्नेत रहेका छन् ।
उनीहरुलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद राशि पुरस्कार प्रदान गरिएको कर्मचारी मिलन केन्द्र झापाका अध्यक्ष रुद्र न्यौपानेले बताए । कार्यक्रममा जिसस प्रमुख बरालले निजामति कर्मचारीले सेवा प्रवाहलाई अब्बल बनाउन र कर्मचारी तन्त्रभित्र रहेको विकृति, विसङ्गति र कुसंस्कारको अन्त्य गर्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निजामति ऐन जारी नहुँदा कर्मचारीको वृत्ति विकास र प्रशासनिक सेवामा समस्या भइहरेको बताए । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख र कर्मचारीको उपस्थिति रहेको थियो ।