खोला पसेपछि महाभाराको होक्कलबारी बस्तीमा आउजाउ बन्द

महाभारा ,२२ भदौ । तीन दिन यता बर्षासंगै कन्काई नदीको भंगालो पसेपछि बाटो बगाउँदा झापाको गौरीगञ्ज १ साविक महाभाराको होक्कलबारी बस्तीका सर्वसाधारणको आवतजावत बन्द भएको छ ।
त्यहाँको बाँध भत्काएर टप्पु तर्फबाट कन्काईको पानी भंगालोका रुपमा होक्कलबारी तर्फ पसेपछि बस्ती आउजाउ बन्द हुन पुगेको हो ।
केही दिनयता बाँधमा भइरहेको कटान रोक्न गरिएको रोकथामको प्रयासका बाबजुद सोमबार राती चौरी र होक्कलबारी बस्तीको बीच भागबाट भंगालो पसेको स्थानीय प्रेम राईले जानकारी दिए । उनका अनुसार टप्पु बस्ती आसपासका केही घर परिवार समेत खोलाको बाढीका कारण विस्थापित हुने क्रममा छन् । रातीनै खोलो पसेछ अहिले बाटोमा लगाएको कज्वे भत्काइरहेको छ अब यहाँको आवतजावतका लागि डुंगाको बन्दोबस्ती गर्न जुटेका छौं – राईले भने । उनका अनुसार कन्काईले धार परिवर्तन गरेर पहिलेकै स्थानमा फर्किदा यस अघि सयौं परिवार विस्थापित भएको सो ठाउँमा हाल रहेका ९० घर परिवार भने प्रत्यक्ष समस्यामा परेका छन् । उनीहरुको बाहिरी सम्पर्क विच्छेद हुने खतरा बढेको छ ।
नदी कटान प्रभावित क्षेत्रमा यसअघि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्ल्सिनासहित जिल्लास्थित सुरक्षा अधिकारीहरु,कांग्रेस झापाका नेता देउमान थेवेसहितको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।
गौरीगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले कन्काईको कटानले बस्तीमा परेको प्रभावका बारेमा स्थानीय सरकारका अतिरिक्त माथिल्लो निकायको समेत ध्यानाकर्षण गराइएको र तत्काल आउन सक्ने जोखिमलाई मध्यनजर गरेर आवश्यक रोकथामका सबै प्रयासहरु शुरु गरिएको बताए ।

Leave a Reply

Your email address will not be published.