समाज रूपान्तरणमा महिलाको भूमिका महत्वपूर्ण : पूर्वमन्त्री ढकाल

पथरीशनिश्चरे , २२ भदौं । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद एवम् पूर्व मन्त्री भानुभक्त ढकालले समाज रुपान्तरका लागि महिलाहरुको एकता प्रभावकारी बन्दै गएको बताएका छन् ।
पथरीशनिश्चरे २ मा चौतारी सामाजिक उद्यमी महिला सहकारी संस्थाको नवनिर्मित भवनको आज उद्घाटन क्रममा बोल्दै पूर्वमन्त्री ढकालले सो विचार राखेका हुन् ।
महिलाहरुले सञ्चालन गरेका संस्थाहरुका गतिविधि पारदर्शी तथा प्रभावकारी हुने र समाज रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह रहेको उनको जोड थियो । उनीहरुको अथक प्रयासबाट सहकारीको भवन निर्माण सहितका गतिविधि थाहा पाउँदा आफुलाई गर्व लागेको भन्दै उनले यस्ता काममा आफुले सक्दो सहयोग पुर्याउने प्रतिवद्धता जनाए । कार्यक्रममा सहकारी निर्माणका क्रममा समूह बनाएर सहजिकरण गर्ने संस्था हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. तीर्थराज रेग्मीले हेफरमार्फत पथरीशनिश्चरे सहित देशभर २ सय ३१ वटा सहकारी गठन भई करीव ३ लाख परिवार यसमा आवद्ध भएको जानकारी दिए । उनका अनुसार यसखाले कार्यक्रममा आवद्ध सहकारीबाट २ अर्व ५० करोड पूँजी जम्मा भएको र बैंकहरुसँग समन्वय गरी धितो विना १० लाख रुपैयाँसम्म ७ अर्व ऋण प्रवाहको पहल गरिएको छ ।

हालसम्म ४१ पालिकामा पशुको गोठ सुधार इनोभेसन सहितको कार्यक्रमको सम्भौता भइसकेको पनि उनले जानकारी दिए । कार्यक्रममा अभियान नेपालका अध्यक्ष प्रेम गिरीले आर्थिक विपन्न समुदायका लागि आत्मनिर्भर मात्र नभएर अन्तर निर्भरतातर्फ उन्मुख गराउन इनोभेसन कार्यक्रमका लागि पथरीशनिश्चरेमा १ करोड ५३ रुपैयाँको सम्झौता भइसकेको वताए । त्यस्तै अर्का वक्ता मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष गुरु बरालले प्रविधि र सीप हस्तान्तरण गरी जिविकोपार्जनमा सुनिश्चितता अघि बढ्ने बताए।
सहकारी अध्यक्ष सीता भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, समाजसेवी देवराज भण्डारी सहितले शुभकामना मन्तव्य व्यक्त गरेका छन् । चौतारी सामाजिक उद्यमी महिला सहकारी संस्थाको भवनका लागि सांसद ढकालको संसद विकास कोषबाट १० लाख, नगरपालिकाको ७ लाख र वडा कार्यालयबाट ३ लाख र हेफरबाट २ लाख ५० हजार रुपैयाँ प्राप्त भएको थियो । सो सहकारीमा ८ सय ५० जना महिला शेयर सदस्य रहेका छन् ।
सो क्रममा सांसद ढकालले संसद विकास कोषबाट कार्यक्रम प्राप्त भएर कालोपत्रे बनेको पथरीशनिश्चरे २ मा रहेको पूर्वकै चर्चित सेल्फीरोडको पनि अवलोकन गर्दै त्यहाँ केही फोटोहरु लिएका थिए ।

Leave a Reply

Your email address will not be published.