
दमक,२१ भदौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहने भएकाले सोहि अनुसार निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएकी छन् ।
नेपाली कांग्रेसको ‘जनताको साथमा कांग्रेस अभियान’ अन्तर्गत मंगलवार दमकमा भएको कार्यक्रममा नेतृ संग्रौलाले गठबन्धन भन्दा पनि पहिले कांग्रेस भित्रको आन्तरिक एकता मजबुद बनाउनु पर्ने जोड दिइन् ।
अभियान अन्तर्गत झापा जिल्लामा पार्टीकी केन्द्रीय प्रतिनिधि समेत रहेकी उनले निर्वाचनमा जित्ने गरी काम गर्न कार्यकर्ताहरुलाई आग्रह गरिन् । जनताको हरेक समस्यामा पुगेर जनताकै साथमा रहनु पर्ने भन्दै उनले कांग्रेस जनता संग जोडिएको पार्टी भएको भन्दै जनताका हरेक सुख दुखमा कांग्रेस हुनु पर्ने बताए ।
अन्तरकृया कार्यक्रममा कार्यकर्ताहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै संग्रौलाले गठबन्धन गर्दा जनआधारलाई पनि हेर्नु पर्ने बताइन् । उनले जित्न सक्ने आधार हेरेर सिट बाँडफाँड गरिनु पर्ने पनि बताईन् ।
कांग्रेस झापा क्षेत्र नम्बर पाँच (ख )को आयोजनामा भएको कार्यक्रमको अध्यक्षता सभापति रवि न्यौपानेले गरेका थिए ।
यसैगरि गौरादहमा मंगलवारनै उनले निर्वाचन क्षेत्रतर्फ प्रदेश (क) मा आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’ कार्यक्रममा सम्बोधन गरेकी थिइन् ।