झापामा निःशुल्क डायलासिस गराउँन पालो कुर्नुपर्दैन


झापा,२१ भदौं । अर्जुनधारा–७ का ४१ वर्षीय भुपिन राईले आठ वर्षदेखि विर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालबाट मिगौंलाको डायलासिस सेवा लिदैआएका छन् । सुरुका दिनमा पालो नपाउँदा पैसा तिरेर सेवा लिएका उनले चार वर्षदेखि कुनै शुल्क तिर्नुपरेको छैन् । विर्तामोड–४ का ६९ वर्षीय अग्निप्रसाद अधिकारी दुई वर्षदेखि मिगौंलाको डायलासिस गराउन भद्रपुरको ओमसाई पाथिभरा अस्पताल धाउदैआएका छन् । निजी अस्पताल भए पनि सरकारले मिगौंलाको डायलासिस निःशुल्क गराएको हँुदा उनले शुल्क तिर्नुपरेको छैन् ।
झापामा तीनवटा अस्पतालबाट मिगौंलाको डायलासिस सेवा निःशुल्क उपलब्ध हुदैआएको छ । भद्रपुरको मेची प्रादेशिक अस्पताल, ओमसाई पाथिभरा अस्पताल र बिर्तामोडको पूर्णटङ्ग बिर्तासिटी अस्पतालले निःशुल्क सेवा उपलब्ध गराउँदै आइरहेको छ । सूचीकृत अस्पतालबाट नियमित निःशुल्क डायलासिस सेवा लिइरहेका मिगौंलाका बिरामीको सङ्ख्या दुई सय नाघेको छ भने त्यहाँ ३५ वटा डायलासिस उपकरण छन् ।
जिल्लामा मिगौंलाका बिरामीको सङ्ख्या यसको दोब्बर रहेको अनुमान गरिए पनि अरुहरुले झापा बाहिर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको नोवेल मेडिकल कलेज र भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट डायलासिस सेवा लिइरहेको पाइएको छ । उपकरणको सङ्ख्या थोरै भएका बेला केहीवर्ष अघिसम्म निःशुल्क डायलासिसको पालो पाउन अर्को बिरामीको मृत्यु कुर्नुपर्ने दुःखदायी अवस्था थियो तर अहिले डायलासिस उपकरण पर्याप्त मात्रामा थपिएका कारण पालो कुर्नुपर्ने अवस्था अन्त्य भएको हो । यसबाहेक विर्तामोडको मनमोहन सामुदायिक अस्पतालले रोटरी क्लब अफ मिडटाउनको सहकार्यमा सात वटा डायलासिस उपकरण एक वर्षदेखि सञ्चालनमा ल्याइरहेको छ ।
निःशुल्क सेवा प्रदान गर्ने अस्पतालको सूचीमा दर्ताको प्रक्रिया चलिरहेका कारण हाल यहाँबाट सरकारले तोकिदिएकै रु दुई हजार पाँच सयमा डायलासिस सेवा दिइरहेको विर्तामोडस्थित रोटरी क्लबका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले बताउँछन् । झापामा सबैभन्दा धेरै १६ वटा उपकरण राखेको ओमसाई पाथिभरा अस्पतालमा नियमित एक सय पाँच बिरामीले निःशुल्क डायलासिस सेवा प्राप्त गरिरहेका छन् ।
“अन्य अस्पतालले दिनको दुई चरणमा सेवा दिइरहेका छन्, हामीले नियमित दैनिक तीन चरणमा सेवा दिइरहेका छौँ,” ओमसाई पाथिभरा अस्पतालका व्यवस्थापक मनोज दाहाल भन्छन्–“यहाँ कुनै पनि बिरामीले पालो कुर्नुपर्दैन । कसै–कसैले हप्तामा तीन पटकसम्म सेवा लिइरहेका छन् ।”उक्त अस्पतालले निकट भविष्यमा दमक, इटहरी, लहान र बर्दिबासमा शाखा सञ्चालन गरेर मिर्गौलाका बिरामीलाई निःशुल्क डायलासिस सेवा दिने योजना बनाइरहेको उनले बताए । विसं २०७१ सालदेखि उक्त अस्पतालमा डायलासिस सेवा उपलब्ध छ ।
सरकारी स्वामित्वको मेची प्रादेशिक अस्पतालमा १३ वटा उपकरण राखेर मिगौंलाका बिरामीको डायलासिस भइरहेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेल बताउँछन् । उनका अनुसार अस्पतालमा नियमितरुपमा ६० जनाले डायलासिस सेवा लिइरहेका छन् । विगत केही वर्षदेखि काठमाडौँको बिराङ हेल्थ केयर नामक निजी संस्थासँगको व्यवस्थापकीय सहकार्यमा डायलासिस सेवा सञ्चालन भइरहेकामा गत महिनादेखि साझेदार हटाएर अस्पताल आफैले सेवा प्रदान गरिरहेको छ ।
मेची अस्पतालमा पनि डायलासिस सेवा लिन बिरामीले पालो कुर्नुपर्ने विगतको जस्तो अवस्था अहिले नभएको र बिरामीले सबै सेवा निःशुल्क प्राप्त गर्ने सूचना अधिकारी मनोज पोखरेल उल्लेख गर्छन् । अस्पतालको सङ्ख्या धेरै भएको जिल्लाकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पताल मात्र निःशुल्क डायलासिस सेवा प्रदान गर्ने अस्पतालको रुपमा स्वास्थ्य मन्त्रालयमा सूचीकृत छ । हाल उक्त अस्पतालमा पाँच वटा मात्र डायलासिसका उपकरण छन् ।
नियमित डायलासिस गराउने बिरामीको सङ्ख्या २७ पुगेको छ । अस्पताललाई निकट भविष्यमा नयाँ भवनमा सर्ने र त्यहाँ थप उपकरण राखेर सेवा बढाउने अस्पतालको तयारी रहेको व्यवस्थापन पक्षले जनाएको छ । विर्तामोडमा विएण्डसी, कनकाई, सञ्जीवनीलगायत निजी अस्पताल सञ्चालनमा छन् । तर मनमोहन सामुदायिक अस्पतालले रोटरीसँगको सहकार्यमा सरकारी दररेटमै डायलासिस सेवा दिइरहेको छ । अरु अस्पतालले शुल्क लिएर मात्र डायलासिस सेवा प्रदान गर्दै आएका छन् ।
सातामा तीन पटक डायलासिस गराइरहेका अर्जुनधाराका भुपिन राई दुई पटकको निःशुल्क र शुक्रबार एक पटकको भने रु चार हजार तिरिरहेको बताउँछन् । “दुई पटकको मात्र पैसा लाग्दो रहेनछ, एक पटकको हप्तैपिच्छे तिर्दै आएको छु,” उनी भन्छन्, “आर्थिक अभावले मिगौला प्रत्यारोपण गर्न सकिएन, यही डायलासिसले आठ वर्षदेखि बाँचिरहेको छु ।” सरकारले डायलासिस निःशुल्क गरिदिएपछि विपन्न मिगौंलाका बिरामीका लागि सहज भएको राई बताउँछन् ।
चन्दा सहयोगले पनि नपुगेपछि मिगौला उपचारकै लागि बिरामी अवस्थामा लामो अवधिसम्म अटोरिक्सा चलाउनु भएका उनी स्वास्थ्य खस्किँदै गएकाले हाल रिक्सा चलाउन छाडेको उल्लेख गर्छन् । निःशुल्कका लागि कागजपत्र नबनाउँदाको अवस्थामा नयाँ बिरामीले एक पटक डायलासिस गर्दा सेवा शुल्क रु दुई हजार पाँच सयदेखि रु चार हजारसम्म अस्पताललाई बुझाउनुपर्ने हुन्छ । नयाँ बिरामीले डाइलेटर, फिल्टरलगायत आवश्यक सामान किन्नुपर्ने हुन्छ तर सरकारबाट निःशुल्क सेवा पाउने पत्र पाइसकेका बिरामीले फिस्टुला बनाउँदा बाहेक कुनै शुल्क तिर्नु नपर्ने ओमसाई पाथिभरा अस्पतालका व्यवस्थापक मनोज दाहाल बताउँछन् ।
मिगौंलाले काम नगर्ने भएको चिकित्सकको प्रतिवेदनका आधारमा स्थानीय तहले सिफारिस दिने र सोही सिफारिस स्वास्थ्य मन्त्रालयमा दर्ता गराएपछि बिरामीले निःशुल्क डायलासिस सेवा पाउने व्यवस्था छ । पछिल्लो समय सरकारले मिगौंला प्रत्यारोपण गरेका बिरामीलाई औषधि उपचार र जीविकाका लागि मासिक रु. पाँच हजार दिने नीति लागू गरेको छ । निःशुल्क डायलासिस र मासिक उपचार सहयोगले मिगौला बिरामीको जीवन बचाउन ठूलो मदत पुगेको छ ।

Leave a Reply

Your email address will not be published.