
इलाम ,२१ भदौ । इलाममा दुई दुई पालिका प्रमुखसहित ५६ जना जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी ) रोजेका छन् ।पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचत क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राई र जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराईली र जिल्ला समन्वय समिति सदस्य पूर्णबहादुर बस्नेतसहित १० वडा अध्यक्ष र बाँकी सदस्य गरी ५६ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन् ।
उनीहरुले सोमबार जिल्ला निर्वाचन कार्यालय इलामको कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गराएका हुन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा इलामका १० स्थानीय तहमध्ये ७ वटामा प्रमुख र ९ वटामा उपप्रमुख पद नेकपा एमालेले जितेको थियो । ७ जना प्रमुखमध्ये २ जनाले एकीकृत समाजवादी रोज्दा ५ जना भने एमालेमै रहेका छन् । त्यस्तै ९ उपप्रमुखमध्ये १ जनाले एकीकृत समाजवादी रोज्दा ८ जना एमालेमै रहेका छन् ।
त्यस्तै ८१ वडामध्ये ४४ मा एकल र ३ वटामा मिश्रित गरी ४७ वटामा वडाअध्यक्ष जितेको थियो । त्यसमध्ये १० जना वडा अध्यक्ष, ४ जना कार्यापालिका सदस्य र बाँकीले एकीकृत समाजवादी रोजेका छन् ।
एकीकृत समाजवादी रोज्नेमा सबैभन्दा धेरै सूर्योदय नगरपालिकाका जनप्रतिनिधि रहेका छन् । सूर्योदयमा उपप्रमुख र एक वडा अध्यक्ष बाहेक सबैले एकीकृत समाजवादी रोजेका छन् । १४ वटा वडा रहेको सूर्योदयमा तत्कालिन एमालेले प्रमुख र उपप्रमुखसहित १० वटा वडामा जितेको थियो । जसमध्ये ९ वडाअध्यक्षले एकीकृत समाजवादी रोजेका हुन् । त्यस्तै ४ जना कार्यापालिका सदस्य र २९ जना वडा सदस्यले एकीकृत समाजवादी रोजेका हुन् । पूर्वप्रधानमन्त्री खनालको बलियो क्षेत्र मानिएको सूर्योदयका झण्डै ८० प्रतिशत जनप्रतिनिधिहरु एकीकृत समाजवादीमा लागेको देखिएको छ ।
त्यस्तै माईजोगमाई गाउँपालिकाका अध्यक्षसहित एक वडा अध्यक्ष र ७ जना एकीकर्त समाजवादीमा लागेका छन् । ६ वटा वडा रहेको माईजोगमाईमा तत्कालिन एमालेले अध्यक्ष उपाध्यक्षसहित ४ वटा वडामा जित हात पारेको थियो । अन्य जनप्रतिनिधि भने एमालेमै रहेका छन् ।
त्यस्तै सन्दकपुर गाउँपालिकाबाट वडा सदस्य हरि लुङ्गेली र देउमाई नगरपालिका ९ बाट वडा सदस्य हेमराज लिम्बूले एकीकृत समाजवादी रोजेका छन् ।
एमाले विभाजन हुनुपूर्व माधव झलनाथ समूहमा रहेका सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई भने पार्टी विभाजनपछि एमालेमै रहेका छन् । त्यस्तै इलाम नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका फाकफोकथुम गाउँपालिका र रोङ गाउँपालिकाबाट निर्वाचित सबै जनप्रतिनिधि एमालेमै रहेका छन् ।
इलाम पूर्व प्रधानमन्त्री एवम तत्कालिन एमालेका अध्यक्ष झलनाथ खनाल र पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको जिल्ला हो । पार्टी विभाजनपछि झलनाथको क्षेत्रमा एकीकृत समाजवादीमा खुल्नेको संख्या बढ्दो छ । उता केपी ओली निकट नेम्बाङको क्षेत्रमा भने समाजवादीमा जानेहरुको संख्या नगन्य मात्र देखिएको छ ।
खनाखत गर्न अझै १ दिन बाँकी रहेकाले पूर्ण विवरण भने आइसकेको छैन । यसअघि इलाम क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित खिनु लङ्वा लिम्बूले एकीकृत समाजवादीमा रहने गरी हस्ताक्षर गरिसकेकी छन् ।
पार्टी विभाजन भएपछि नयाँ पार्टीमा जान चाहने स्थानीय तहका जनप्रतिनिधिले भदौ २२ गते मंगलबारसम्म जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नुपर्ने हुन्छ ।