
पथरीशनिश्चरे, २० भदौ। आगामी भदौ ३० गतेदेखि सञ्चालन हुने निश्चित भएको कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई आईतबारदेखि कोभिड- १९ विरुद्धको एस्ट्राजेनिका खोप लगाउन थालिएको छ ।
सरकारले कक्षा -१२ का परीक्षार्थीलाई खोप उपलब्ध गराएर मात्र भौतिक रूपमा संचालन हुने परीक्षामा सामेल गराउन स्थानीय तहहरूलाई निर्देशन भएबमोजिम नै उक्त खोप उपलब्ध गराउन थालिएको हो ।
कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न भन्दै यस अघि पटक पटक रोकिदैआएको उक्त परीक्षा भौतिक रूपमै लिनका लागि भदौ ३० गतेदेखिको परीक्षा कार्यक्रम तय भैसकेको छ ।
मुलुकभर संचालन हुने उक्त परीक्षामा सहभागी हुने पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रभित्रका ६ वटा सामुदायिक र ३ संस्थागतसहित ९ विद्यालयहरूका १ हजार ३ सय ८८ जना परिक्षार्थीलाई पनि एस्ट्राजेनिका खोप उपलब्ध गराईदैंछ ।
आज २० गते र भोलि २१ गतेसम्म नगरभित्रका तोकिएका नगर अस्पताल , शनिश्चरे र हसन्दह स्वास्थ्य केन्द्रबाट खोप लगाउने नगरका जनस्वास्थ्य प्रमुख मुरारी आचार्यले जानकारी दिए।
नगरपलिका क्षेत्रमा रहेका पञ्चायत , बुद्ध , जनता , सिंहवाहिनी , भागीरथ र अमरसिंह लगायतका सामुदायिक माध्यमिक विद्यालयका कूल १ हजार ८ जना विद्यार्थीहरुले खोप लगाउदै छन् भने निजी विद्यालयहरू रेडस्टार, वाल्मिकी र एभरेष्ट माविका ३ सय ८० बढि विद्यार्थीहरुले उक्त खोप लगाउने बताईएको छ ।
पञ्चायत, रेडस्टार , एभरेष्ट र वाल्मिकी माविका विद्यार्थीले आफ्नो परिचय पत्रका आधारमा वडा नं २ को नगर अस्पतालमा खोप लगाउन पाउने भएका छन् भने वडा नं ८,९ र १० मा रहेका विद्यालयका विद्यार्थीलाई शनिश्चरे स्वास्थ्य चौकीबाट खोप सेवा उपलब्ध गराइने भएको छ । साथै, नगरका दक्षिणी भूभागमा रहेको अमरसिंह माविका परीक्षार्थीलाई हसन्दह स्वास्थ्य केन्द्रलाई खोप सेवा केन्द्रको रूपमा तोकिएको छ।