राजनीति चेन अफ कमाण्डमा चल्नुपर्छ : पूर्व महामन्त्री डा. कोइराला

बिर्तामोड १८ भदौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले लोकतान्त्रिक पद्धतिमा पार्टी राजनीति चेन अफ कमाण्डबाट सञ्चालन हुनुपर्ने विचार व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार बिर्तामोडको सिपी होटलमा आयोजना गरेको ‘दैनिक उपभोग्य बस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो ’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागि उनले पार्टी सभापतिले सबै कार्यकर्तालाई समान व्यवहार गर्नुपर्ने बताए ।
चिकित्सा पेशामा रहँदा आफूले एकलाख मानिसको आँखाको अप्रेसन गरेर संसार देखाउँदा पाएको सन्तुष्टि अरु केहीले दिन नसक्ने बताउँदै डा. कोइरालाले राजनीतिमा भाषण काम र परिणाम फरक हुने अनुभूति गरेको सुनाए ।

नेपालका १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई खान पुग्ने अन्न उत्पादन हुने भएपनि उत्पादन क्षमतामा ह्रास आउँदा व्यापार घाटा बढेको उनको भनाई थियो । कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन सरकारले विशेष योजना ल्याउनु पर्नेमा उनले जोड दिए । उपभोक्ता सचेत भएमात्र उपभोग्य अधिकार शुनिश्चत हुने भएकाले त्यसमा आम नागरिकहरुले चासो दिनुपर्ने उनको विचार थियो । कांग्रेसका संस्थापक नेता वि.पी. कोइराला अत्यन्तै दुरदर्शी र संवेदनशील नेता भएको चर्चा गर्दै उनले आफ्नो जीवनका प्रेरक प्रसङ्गहरु सुनाएका थिए ।

नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले उपभोक्ताका आवाजहरू संकलन गरी केन्द्रीय छलफलमार्फत सरकारसम्म पु¥याइने बताए । ०८३ मंसिर भित्रै पार्टीको महाधिवेशन हुने बताउँदै उनले पार्टीको क्रियाशिल सदस्यता नवीकरणलाई समयमै सक्न निर्देशन दिए । नेपाली कांग्रेस तिनै तहमा सबैभन्दा ठूलो दल बनेकोमा कांग्रेस कार्यकर्ताले गर्व गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा उर्जामन्त्री दिपक खड्काले जनता र पार्टी अनि सरकारबीचको सम्बन्ध प्रगाढ हुनु आवश्यक रहेको उल्लेख गरे । अस्थिर सरकारका कारण थिलथिलो भएको अर्थतन्त्र र राजनीतिलाई अघि बढाउन संयुक्त सरकार बनेको उनको भनाई थियो । सरकार निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न तयार रहेको र गरिरहेको बताउँदै उनले अहिले लोडसेडिङ नभएको र ट्रीपिङ मात्र भएको जिकीर गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मिन विश्वकर्माले उपभोक्ता, उत्पादक र विक्रेताको अभिभावक राज्य भएकाले यी तिनै पक्षबीच सन्तुलन कायम राख्न पहल गर्नुपर्ने बताए । खुलानाकाका कारण आयात प्रणाली अब्यवस्थित रहेको बताउँदै नेता विश्वकर्माले खाद्यान्नमा मिसावट, तरकारी–फलफुलमा विषादीका कारण दीर्घरोग लाग्ने गरेको बताए । उनले भने, ‘ खाद्यान्नमा भएको मिसावट जाँचका लागि पर्याप्त मात्रामा ल्याव नभएकाले पनि नियमनकारी निकाय प्रभावकारी बन्न सेको छैन्, यसले खाद्य अधिकार खुम्चिन पुगेको छ । ’ उपभोक्ता सचेत भएर उत्पादनको गुणस्तर जाँचमा सरकार सचेत भएमात्रै उपभोक्ता अधिकार सुनिश्चित हुने उनको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाईले किसान र उपभोक्ताका समस्या संसदबाट समाधान गर्न पहल गर्ने बताईन् ।
अर्का केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाले गुट–उपगुटको कुरा नगर्न आग्रह गरिन । त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य गोमा भटराईले हरेक उपभोग्य वस्तुमा मिसावट देखिने बताउँदै गुणस्तर मापन र उपभोक्ता र उत्पादकबीचको ब्यापार असन्तुलन हटाउनुपर्ने धारणा राखिन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य उर्मिला थपालियाले चाडबाडमा उपभोक्ता सचेत हुनुपर्ने धारणा राख्दै सामाजिक सञ्जालका भ्रमपूर्ण प्रचार–प्रसार नियन्त्रण गरी गुटगत राजनीतिको अन्त्य गरे पार्टी बलियो हुने धारणा राखिन् ।

विभागका सदस्य प्रेमराज महर्जनले कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ता सचेत नभएका कारण ठगिएको बताउँदै कालाबजारी र बिचौलियाहरुको नियन्त्रण आवश्यक रहेको बताए । बजार व्यवस्थापन र उपभोक्ताप्रतिको दायित्व व्यवसायीहरुको पनि हो भन्दैं महर्जनले भ्रष्टाचार नियन्त्रण हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जे.पी. शर्मा, ओम विमली, केशवराज पाण्डे, विरबहादुर चौहान, सन्तोष अग्रवाल, दुर्गाप्रसाद प्रसाई, डिल्ली रिजाल, पार्वता खरेल विमली, आशिष आङबो, गिता खरेल, राधा सुब्बा, अन्जु विमली, राकेश सुराना लगायतले आ–आफ्ना धारणा राख्दै ब्यापारघाटा घटाउन सरकारले स्पष्ट योजना ल्याउनुपर्ने, उत्पादित वस्तुको बजारीकरणमा स्पष्ट नीति लिनुपर्ने, विषादीको नियन्त्रण गर्नुपर्ने, निर्यात ब्यापारलाई प्रोत्साहन गर्नुपर्ने, कार्यपत्रको घेरा फराकिलो बनाइनुपर्ने, वंगलादेश पारवहन ब्यापार र एसियन हाइवे लगायतका विषय समेट्नुपर्ने, इमान्दार ब्यापारीहरु अबैध ब्यापारको मारमा परेको, सरकारले ठूला ब्यवसायीलाई छुट दिएपनि साना ब्यवसायीलाई सहुलियत नदिएको, मलखाद र सिंचाई ब्यवस्था नभएको लगायतका समस्या राखेका थिए ।

विभागका संयोजक गुरु बरालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने स्वागत नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले गरेका थिए ।कार्यक्रममा च्याम्बर अफ कमर्शका तर्फबाट रमेश शर्मा र प्याब्सन, एनप्याब्सन, हिसान, मन्टेश्वरी संघ लगायतका तर्फबाट एनप्याब्सन केन्द्रीय सदस्य जयबहादुर श्रेष्ठले आ–आफ्नो मागपत्र प्रमुख अतिथि कोइरालालाई बुझाएका थिए ।

 

Leave a Reply

Your email address will not be published.