गौरादह ,१७ भदौ । झापाको गौरादह नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यक्रम विवादमा परेको छ । मुद्दा परेका व्यक्तिदेखि नेताहरूको जीवनी राखिएपछि पाठ्यक्रम विवादमा तानिएको हो । गौरादह नगरपालिकाले प्रकाशन गरेको पाठ्यक्रममा नेताको जीवनी र फोटो राखिएको छ ।स्थानीय पाठ्यक्रममा बहालवाला र पूर्वजनप्रतिनिधिको तस्वीरदेखि अदालतमा मुद्दा खेपिरहेका व्यक्तिको जीवनी पनि समावेश छ ।
गौरादह नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बलराम खरेल जग्गाको कीर्ते अभियोगमा मुद्दा खेपिरहेका छन् । उनी त्यही मुद्दामा २५ दिन थुनामा समेत परेका थिए । उनका बारेमा पनि विद्यार्थीले अब पढ्नुपर्ने भएको छ ।
पाठ्यक्रममा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की र उनका दाइबारे पनि सामग्री राखिएको छ । गौरादह नगरपालिकाका कक्षा १ देखि ८ सम्मका विद्यार्थीले अब कार्की दाजुभाइ र मुद्दा खेपिरहेका खरेलको जीवनी पढ्नुपर्ने भएको हो । दाजु दीपकको जीवनी पढ्नु पर्ने छ भने भाइ हिक्मतका विषयमा विद्यार्थीले जान्नुपर्ने भएको छ ।
चाखलाग्दो कुरा त के छ भने गौरादह बजारका सुन पसले सोम विश्वकर्मा झण्डै ५० करोडभन्दा बढी पैसा ठगेर डेढ महिनाअघि फरार भएका थिए । पीडितले बनाएको सङ्घर्ष समितिले गरेको कार्यक्रममा नेकपा (एमाले) झापाका अध्यक्ष तथा संविधानसभा सदस्यसमेत रहेका दीपक कार्कीलाई बोलाइएको थियो । कार्कीले पीडितका पक्षमा कुरा गर्नेमा धेरै आशावादी थिए । तर, उनले गौरादहमा जम्मा दुई जना मात्रै ठूला मान्छे भएको भन्दै भाषण गरे । पहिलो आफू र दोस्रोमा भाइ हिक्मत कार्की । हिक्मत त्यति बेला कोशी प्रदेशका मुख्यमन्त्री थिए । कार्कीले भनेजस्तै अब विद्यार्थीले दुई दाजुभाइकै बारेमा पढ्नुपर्ने भएको छ ।
कक्षा १ को स्थानीय पाठ्यक्रममा नगेन्द्र भण्डारी, हेमन्त कार्की, मणिचन्द्र कार्की, भूमिराज पोखरेल, गजेन्द्र घिमिरे, सीताराम भट्टराई र खड्ग पराजुलीबारे सामग्री राखिएको छ । उनीहरू गौरादहका पूर्ववडाध्यक्षहरू हुन् ।
यस्तै कक्षा २ मा राखिएका दिलीप भण्डारी, गोपालप्रसाद कोइराला, गणेशकुमार राजबंशी, उपेन्द्र निरौला, दुर्गामणि बस्नेत र जगन्नाथ खनाल हालका गौरादह नगरपालिकाका बहालवाला वडाध्यक्ष हुन् ।
कक्षा ३ को पाठ्यपुस्तकमा रोहितकुमार साह नगरपालिकाका पूर्वप्रमुख हुन् भने गीता भेटवाल पूर्वउपप्रमुख हुन् । कक्षा ४ को पाठ्यक्रममा हालका नगर प्रमुख छत्रपति सुवेदी र उपप्रमुख जलवर्षा राजबंशीको तस्वीर राखिएको छ । चार कक्षकै पाठ्यपुस्तकमा पूर्वअर्थमन्त्रीसमेत रहेका डा। युवराज खतिवडाको तस्वीर पनि राखिएको छ । निजी विद्यालयका सञ्चालक नारायणप्रसाद घिमिरेको पनि तस्वीर पाठ्यक्रममा छ ।
कक्षा ६ को पाठ्यक्रममा कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की, एमालेकै नेतृ तथा पूर्वमन्त्री शिवमाया तुम्बाहाम्फेको तस्वीर राखेर कुनै एक जनाको योगदानको विषयमा खोज र छलफल गरी कक्षामा प्रस्तुत गर्न भनेर उल्लेख गरिएको छ । त्यही कक्षामा एमाले झापाका अध्यक्षसमेत रहेका संविधानसभा सदस्य दीपक कार्कीको जीवनी राखिएको छ ।
पूर्वमुख्यन्यायधिवक्ता तथा कानूनमन्त्रीसमेत रहेका अग्नि खरेलको नाम भने पुस्तकमा राखिएको छैन । कार्की दाजुभाइसँग खरेलको सम्बन्ध राम्रो नभएको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग को नजिक हुने भन्ने टसलका कारण उनीहरूबीच तिक्तता रहेको गौरादहका एमाले नेताहरू बताउँछन् । गौरादहमा कार्की र खरेल भनेर एमालेका कार्यकर्ता विभाजित रहेको स्थानीय नेताहरूको दाबी छ । मेयर सुवेदी कार्कीनिकटका हुन् भने वडा नम्बर ७ का वडाध्यक्ष बलराम खरेल खरेल निकटका हुन् ।
राप्रपाका नेता अम्बरबहादुर विष्टको नामसमेत पुस्तकमा अटाइएको छैन । उनी पूर्वप्रधानपञ्च हुन् भने हालका कोशी प्रदेशसभा सदस्य हुन् । राज्यले सहिद घोषणा गरेका व्यक्तिबारे पनि त्यहाँ उल्लेख गरिएको छैन । एमाले अध्यक्ष ओलीसँग चुनावी प्रतिस्पर्धामा गएका डा। खगेन्द्रपाण्डव अधिकारीलाई पनि पुस्तकमा उल्लेख गरिएको छैन । उनको घर गौरादहमा छ । उनले वन्यजन्तुको विषयमा भारतबाट पीएचडी गरेका थिए ।
अर्का कृषिविज्ञ अनिल कृष्ण प्रसाईँको नाम पनि उल्लेख गरिएको छैन । उनी नेपाली कांग्रेसको भनेर चिनिएका कारण नै नाम नराखिएको भन्दै विरोध भइरहेको छ ।
सामाजिक तथा शैक्षिक व्यक्तित्वको नामसमेत छुटेको स्थानीयले बताएका छन् । गौरादहमा दुई जनालाई सशस्त्र युद्धको समयमा प्रहरीले बाटो छेकेर गोली हानी हत्या गरेको थियो । उनीहरूलाई राज्यले सहिद घोषणा गरेको छ । तर, उनीहरूका बारेमा भने पाठ्यक्रममा केही पनि उल्लेख छैन ।
यसैगरी, कक्षा ४ मा निजी विद्यालयका सञ्चालक नारायण घिमिरेको फोटो राखिएको छ । उनले आफूलाई जानकारी नदिई फोटो राखेको बताए । ‘अरु भासभुसेको पनि फोटो देखेको छु,’ घिमिरेले भने, ‘मेरो शिक्षाको कदर गरेर राखेका होलान् । तर, मलाई जानकारी पनि गराइएन । फोटो पनि मागिएन ।’
सोचविचारै नगरी पाठ्यक्रम बनाइएको डा. खगेन्द्र पाण्डव अधिकारीले बताए । यसले साना बालबालिकाको मष्तिष्कमा नकारात्मक असर गर्न सक्ने भन्दै पुर्नलेखन गरेर पाठ्यक्रम बनाउनेपर्ने उनले बताए । ‘बगरमा बसेर पार्टीमा यो गरियो, ऊ गरियो, सामन्तको टाउको मुण्डन गरेर जेल बस्यो भनेर हल्ला गर्नुभन्दा पनि देशका लागि केही गरेका प्रेरणादायी व्यक्तिबारे उल्लेख गरेको भए राम्रो हुने थियो,’ उनले भने, ‘साना बालबालिकाको दिमागमा यस्तो कुरा छिराउनु राम्रो होइन । विकसित देशमा प्राथमिक शिक्षालाई महत्वपूर्ण मानिन्छ । कस्तो देश बनाउने रु बच्चालाई के सिकाउने भन्ने विषय महत्त्वपूर्ण हुन्छ । यस विषलाई लिएर प्रतिक्रिया दिन पनि लाज लाग्ने स्थिति छ । यो राम्रो होइन । अब पुर्नलेखन नै गरी पाठ्यक्रम प्रकाशन गर्नुपर्छ ।’
यता पालिका प्रमुख छत्रपति सुवेदीले भने पाठ्यक्रममा राखिएको विषयवस्तु स्वाभाविक रहेको प्रतिक्रिया दिए । राजनीतिक पूर्वाग्रहका कारणले कसै–कसैले विरोध गरेको उनले तर्क गरे । फेसबुकमा लेख्न र टाइप गर्न जाने भनेकै भरमा कुरा नबुझी मानिसहरूले विरोध गरिरहेको उनले बताए । ‘नेपालमा जे गरे पनि चर्चा हुन्छ । हामीले लामो समय योगदान गर्ने मान्छेको बारेमा जीवनी हालेका हौँ । अलिक कम योगदान गर्नेको फोटो मात्रै हालेका हौँ । सात–आठ महिना लगाएर पाठ्यक्रम बनाएका हौँ,’ उनले भने, ‘फेसबुकमा लेख्न जाने, टाइप गर्न जाने भनेकै भरमा नबुझी विरोधमा लेख्नु भएन नि ?,’ उनले भने ।
डा. अधिकारी र अग्नि खरेलको गौरादहमा लामो योगदान नभएकोले पाठ्यक्रममा नराखिएको उनले स्पष्ट पारे । उनले अधिकारी र खरेल चुनाव लड्न मात्रै जिल्लामा आउने गरेको आरोपसमेत लगाए ।
यद्यपि अम्बर विष्टको नाम भने छुटेको बताउँदै उनको संकलन गर्न भनिसकेको जानकारी दिए । कक्षा ८ को पुस्तकमा विष्टको तस्वीर छापिने सुवेदीले जनाए ।
कक्षा ७ र ८ को पाठ्यपुस्तक भने छापी नसकिएको शिक्षा शाखाका प्रमुख विदुर आचार्यले जानकारी दिए । उनका अनुसार शुद्धाशुद्धि हेर्ने काम भइरहेको बताए । कक्षा ६ सम्मको भने पुस्तक नगरपालिकाले प्रकाशन गरिसकेको छ । (लोकान्तर )