
काठमाडौं, १८ भदौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। पार्टी मुख्यालय थापाथलीमा गएर गौतमले पार्टी परित्याग गरेको जानकारी गराएका हुन्। पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई गौतमले पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। गौतमका स्वकीय सचिव दीपक टमाटाले पार्टीको सबै जिम्मेवारी र पार्टीबाट राजीनामा दिएको बताए।
गौतमले लेखेको राजीनामा पत्रमा ओलीले संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालना नगरेको उल्लेख छ।
जनादेशलाई लत्याउँदै दुई पटक प्रतिनिधि सभा विघटन गरेको आरोप समेत गौतमले ओलीलाई लगाएका छन्।
२०७७ पुस ५ गतेदेखि नै गौतमा पार्टीमा निष्क्रिय बन्दै आएका थिए। तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधीसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो।
कानुनी रूपमा विभाजन नभए पनि तत्कालीन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली एकातिर थिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल अर्कोतिर थिए।
नेकपाका बहुमत केन्द्रीय सदस्यहरूले ओलीलाई पार्टीबाट निष्कासन समेत गरेका थिए। तर त्यसलाई निर्वाचन आयोगले मान्यता दिन आलटाल गरेको कारणले ओलीमाथिको कारबाहीले वैधानिकता पाउन सकेको थिएन।
नेकपाका दुई समुूहले आ-आफ्ना ढंगले गतिविधि गर्दा गौतम भने नेकपा एकता अभियानमा लागेका थिए।२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीको एकता भंग गरिदिएको थियो। त्यसको केही समय उनी एमाले अध्यक्ष ओलीले बोलाएको बैठकमा गएका थिए।
एमालेभित्र विवाद उत्पन्न भएसँगै एमाले एकताको जिम्मा आफूलाई दिन गौतमले आग्रह गरेका थिए। तर ओलीले गौतमलाई कुनै भूमिका दिएका थिएनन्। माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा सहभागी हुने बताएका गौतमले निर्वाचन आयोगमा सनाखत भने गरेका थिएनन्।
एकीकृत समाजवादीले जनताको बहुदलीय जनवादलाई सिद्धान्तको रूपमा मान्ने भए मात्रै उक्त पार्टीमा रहने उनले बताउँदै आएका छन्।
‘उहाँले पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असहमति जनाएर राजीनामा दिनुभएको हो, पार्टी एकतावद्ध गराउने सन्दर्भमा ओली चुकेको र सच्याउन खोज्दा नसकिएको हुनाले उहाँले एमाले त्याग्नुभएको हो,’ गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले भने।
पार्टी त्याग्दैगर्दा गौतमले एकीकृत समाजवादीले विधानमा मार्गदर्शक सिद्धान्त जबज भए तुरून्तै प्रवेश गर्ने बताएको सुवेदीले जानकारी दिए।
‘मौखिक रूपमा माधव नेपालसँग कुराकानी गर्दा उहाँले पार्टीको मार्गदर्शक सिद्धान्त जबज बनाउँछु भनी प्रतिवद्धता जनाउनुभएको छ,’ सुवेदीले भने, ‘तर, निर्वाचन आयोगमा मार्गदर्शक सिद्धान्त जबज बनाउने निर्णय गरेपछि मात्रै उहाँ समाजवादीमा जानुहुन्छ।’
निर्वाचन आयोगमा जबजलाई अद्यावधिक गरे नेपालको समाजवादीमा जान गौतम शतप्रतिशत तयार रहेको सुवेदीले बताए।
गौतम अहिले राष्ट्रिय सभामा स्वतन्त्र सांसद छन्। गत भदौमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको हो। २०७४ को निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका हुन्।