
झापा, १८ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी ) ले बैङ्किङ कसूर मुद्दामा विर्तामोडका ४३ वर्षीय टङ्कनाथ कट्टेललाई पक्राउ गरेको छ ।
उच्च अदालत पाटनले बैङ्किङ कसूर मुद्दामा रु ६० लाख जरिवना गरेपछि फरार रहेका कट्टेललाई बिहिबार बिर्तामोडबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ ४ गतेको फैसलापछि कट्टेल सात दिन कैद र बिगो बमोजिम रु ६० लाख जरिवनापछि फरार रहेका थिए ।
पक्राउ परेका उनले आफ्नो सिभिल बैँकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।
उच्च अदालतले उनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग ) बमोजिमको कसूरमा दफा १५ (१ ) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत पेश गरिएको प्रवक्ता महतोले जानकारी दिए ।