धरानमा ८ वटा पानी उद्योगका १५६ वटा जार नष्ट

धरान ,१७ भदौं । खाद्य प्रविधि तथा गुण नियन्त्रणका संयुक्त टोलीले धरान उपमहानगरपालिकाको मुख्य नाका तीनकुनेबाट विभिन्न ८ वटा पानी उद्योगका १५६ वटा जार नष्ट गरेको छ ।
सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले धरान प्रवेशको मुख्य नाका तीनकुनेबाट भित्रने पिउने पानीको र दूधजन्य पदार्थ अनुगमन बाट ८ वटा पानी उद्योगका १५६ वटा जार नष्ट गरेको हो ।
इटहरी–२ स्थित गौमुखी गङ्गा जल प्रालिको ५६ वटा जार नष्ट गरिएको छ । त्यस्तै जय नेपाल जल उद्योग तरहराका ११ वटा जार, दिव्येश्वरी जल उद्योग इटहरीका २० वटा, पारिजात जल उद्योगको २९ र हलेसी एक्वा तरहराको ४१ वटा पुरानो जार नष्ट गरिएको छ ।

धरान भित्रिने पिउने पानीका उद्योगहरूको पानी जारमा अधिकांश पुरानो, कुच्चिएको, फोहोर र लेबुल बिनाका जार भेटिए पछि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरकी खाद्य अनुसन्धान अधिकृत प्रकृति बस्तीले बताइन् । दूधमा भने परीक्षण गर्दा मिसावट नभएको पाइएको थियो तर विभिन्न उद्योग जार भने कामै नलाग्ने भएकाले तत्काल नष्ट गरेको र लेबल नभए पनि प्रयोग गर्न मिल्ने जार लेबल लगाएर मात्र बिक्री गर्न निर्देशन दिएर फिर्ता दिइएको उनले बताइन् ।
टोलीले जार लिएर आएका सवारीका कर्मचारीलाई पुरानो र लेबलबिनाको जारमा पानी बिक्री नगर्न निर्देशन दिएको छ ।अनुगमन गरिएका ८ वटा कम्पनीका गाडीहरू धरानमा पानी आपूर्ति गर्न नपाई सबै फिर्ता भएका थिए ।

आइतबार गंगाजलको पिउने पानीको सिलप्याक बोतलभित्र किरा भेटिएको उपभोक्ताले गुनासो गरेको विषयमा यथार्थ बुझ्न उक्त उद्योगको पानीको नमुना संकलन गरेर लगिएको अधिकृत बस्तीले बताइन् ।
उपमेयर अइन्द्रबिक्रम बेघाले अनुगमन उद्योगी, व्यवसायीहरूलाई दुःख दिन र आतङ्कित गर्न नभएको उल्लेख गर्दै उपभोक्ताको स्वास्थ्यको हितको लागि, बजारलाई अनुशासित र मर्यादित बनाउन गरिएको बताए । सरकारले तय गरेको मापदण्डअनुसारका पिउने पानी बिक्री वितरण गर्न व्यवसायलाई उत्प्रेरित गर्न अभियानलाई साथ र सहयोग गर्न व्यवसायीहरुसँग उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published.