झापा ,१६ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले ०८२ सालबाट अहिलेको पार्टी नेतृत्व बिदा हुने बताएका छन् ।झापाको धुलाबारी शनिबार आयोजित मेचीनगर नगर सम्मेलनको उद्घाटन कार्यक्रममा थापाले तलको समस्या मिलाउनुस्, हामी माथिको समस्या मिलाउँछौं, ढुक्क हुनुस्, अगामी महाधिवेशनबाट अहिलेको पार्टी नेतृत्व बिदा हुने दावी गरे ।
पार्टीमा केही समस्या र अफ्ट्यारा भने अवश्य रहेको उनले सुनाए । काङ्ग्रेसमा पुनर्जागरण जरुरी भएको औल्याउदै उनले पार्टीमा जब्बर बनेर रहेको‘हायर्की ’भत्काउनु पर्नेमा जोड दिए।
भर्खर आएकाले नयाँले ०८४ को चिन्ता लिएर कोकोहोलो मच्चाइ रहेको उल्लेख गरेका थापाले काङ्ग्रेसलाई ०८४ को चिन्ता पटक्कै नभएको बताए । केही समूहले काङ्ग्रेसलाई नै निसाना बनाएर प्रहार गरिरहेको उनको टिप्पणी छ। तर, त्यो कुन समूह हो उनले खुलाएनन् ।
‘एमालेलाई सडक किनारामा बसेर समस्या छ भन्दिए हुग्छ, अर्कोलाई टङटङ घण्टी बझाइदिए पुन्छ’उनले भने, -‘काङ्ग्रेसलाई त्यसो गरेर पुग्दै, देश बदल्ने जिम्मा काङ्ग्रेसको काँधमा छ।’
कम्युनिस्टले समाजको विश्वास कहिल्यै नगर्ने उल्लेख गरेका थापाले नेपाली समाजले गुमाएको आत्मविश्वासलाई जगाएर काङ्ग्रेसले देश बदल्ने विश्वास दिलाए। काङ्ग्रेससँग युवा र तन्नेरी पुस्ता रिसाएको बताएका उनले तन्नेरी पुस्तालाई भेटेर फकाउन नेता,कार्यकर्तालाई आग्रह गरे।
‘समाजको विश्वास डगमगाएको छ, आत्मविश्वास गुमेको छ’ महामन्त्री थापाले भने,-‘डगमगाएको विश्वास , गुमेको आत्मविश्वास जगाएर १५ वर्षभित्र देश बदल्नु र बनाउनु छ। ’ देश अब १५ वर्षमात्रै जवान रहने उनको तर्क छ।
महामन्त्री थापाले भने,-‘अघिल्ला पाँच वर्ष आधार वर्ष र पछिल्ला पाँच वर्ष उचाईको वर्ष बनाउन चुकियो भने देश बन्दैन ।’ चार वर्षको चिन्ता छाडेर काङ्ग्रेसले अहिलेको समयलाई देश बनाउने अवसरका रूपमा लिएको बताए।
‘समाजमा छट्पटाहट छ,आक्रोश छ, नैराष्यता छ,तन्नेरीमा विदेसिने जोड छ, आमाबुबामा छोराछोरी विदेश ठेल्ने होड छ ’ उनले भने,-‘काङ्ग्रेसले यो कुरा मिहीन गरेर बुझेको छ,चार वर्षको चिन्ता छाडेर काङ्ग्रेस देश बनाउन लागेको छ’ उनले ०८४ को चुनाव हार्दा काङ्ग्रेसलाई केही फरक नपर्ने बताए ।
मुलुक विचित्रको समाजवादी भएको उल्लेख गर्दै थापाले भने, -‘मानिस समाजवादी, पार्टीको नाम समाजवादी, मोर्चा समाजवादी कस्तो विचित्र हो ? उनले संविधान नै समाजवादी भएपनि देश विकास नभएकोमा चिन्ता व्यक्त गरे।
महामन्त्री थापाले निरास नबन्न र दृढविश्वासका साथ अघि बढ्न नेता,कार्यकर्तालाई आग्रह गर्दै आफूहरूकै पालामा देश समुन्नत हुने डाढस दिए।
काङ्ग्रेस मेचीनगर सभापति सुवेशकुमार पनेरु ( सुदय ) ले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको सम्मेलनमा सचिवद्वय मनोज घिमिरे र मुकेश लिम्बु, उपसभापति योगेन थापा मगरले १४ औँ महाधिवेशनपछि नगर नेतृत्वले गरेका काम, नगरको आगमी योजना र नगर पार्टीको वर्तमान अवस्थाका बारेमा प्रष्ट्याएका थिए।
सम्मेलनमा काङ्ग्रेस केन्द्रीय सदस्य गोमा भट्टराई, कोशी प्रदेश सदस्य विमल आचार्य, प्रदेश सांसद गोपाल तामाङ, झापा सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे, झापा १ का क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले आआफ्नो धारणा राखेका थिए ।