झापा ३ बाट सिटौला , ४ बाट सभापति थेवे सिफारिस

झापा, १७ भदौ । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ को नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको नाम सर्वसम्मत सिफारिस भएको छ।नेपाली कांग्रेस भद्रपुर नगर समितिको कार्यालयमा शुक्रबार बसेको ३ नम्बर क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेता सिटौलाको नाम सर्वसम्मत सिफारिस गरिएको क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिए।

त्यस्तै बैठकले प्रतिनिधिसभा समानुपातिकतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह सिंगुको नाम सिफारिस गरेको उनले बताए। त्यस्तै प्रदेशसभा सदस्य (क ) बाट भूमिप्रसाद राजवंशी र प्रदेश (ख ) बाट नवीन बिमली, भगिरथ पोद्धार र भरत प्रसाईँको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ।
नेता सिटौला सातौं पटक यस क्षेत्रबाट उठ्न लागेका छन्। २०४८ सालको संसदीय निर्वाचनमा एमालेका द्रोणप्रसाद आचार्यसँग सिटौला पराजित भएका थिए। २०५१ सालको संसदीय निर्वाचनमा एमालेका पुष्पराज पोखरेलसँग सिटौला दोस्रो पटक पराजित भए। २०५६ सालको संसदीय निर्वाचनमा एमालेका नारायण राजवंशीलाई पराजित गर्दै सिटौला पहिलो पटक यस क्षेत्रबाट निर्वाचित भई संसदमा पुगेका थिए।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीका पूर्णसिंह राजवंशीसँग सिटौला फेरि पराजित भए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनलाई पराजित गर्दै सिटौला फेरि निर्वाचित भएका थिए।

२०७४ सालको पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिटौलालाई पराजित गर्दै राप्रपाका लिङ्देन पहिलो पटक निर्वाचित भएका थिए। २०७९ सालको दोस्रो प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिटौलासँगै यस क्षेत्रबाट पुनः राप्रपाका अध्यक्ष लिङ्देन उठ्ने लगभग पक्कापक्की भइसकेको छ।
सभापति थेबे झापा क्षेत्र नं ४ बाट सिफारिस

नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेबे झापा ४ न. निर्वाचन क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।पार्टीको ४ नं क्षेत्रीय समितिले उनलाई सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिस गरेको हो । त्यस्तै समानुपातिकतर्फ उत्तम चौलागाईको नाम सिफारिस भएको जनाइएको छ ।

यसअघि अघिल्लो संसदीय निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवारी दिएका थेबे उपविजेता बनेका थिए । सो निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका एलपी साँवा १६ हजार ६९३ को मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी बनेका थिए । साँवाले ४३ हजार ५१५ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी कांग्रेसका थेवेले २६ हजार ८२२ मत प्राप्त गरेका थिए ।यसपटक पनि थेबेको प्रतिष्पर्धा साँवासंग हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published.