दमकको सरसफाई अभियानमा नगर उपमेयरको साथ


दमक ,१७भदौ । दमकमा युवाहरुले स्वत स्फुर्त रुपमा सञ्चालन गरिरहेको सरसफाई कार्यक्रममा नगर उप प्रमुख रेगिना भट्टराई सहभागि भएकी छिन् ।दमकको पूर्व बस स्टेण्ड आसपास हरेक शुक्रबार बिहान सञ्चालन हुदै आएको सरसफाई कार्यक्रममा आज उनी सहभागी हुदै सञ्चालित अभियान प्रति हौसला प्रदान गरिन् ।
उप प्रमुख भट्टराईले यसरीनै सबै दकबासीहरुले आ आप्mनो क्षेत्रको सरसफाई गर्ने हो भने दमक सुन्दर बन्ने जोड दिईन् । युवाहरुको सरसफाई अभियानप्रति नगरपालिकाको साथ रहेको चर्चा गर्दे उनले नगर समृद्ध बनाउन नगरपालिका एक्लैले केहि गर्न नसक्ने उल्लेख गरिन् । युवाहरुले स्वतस्फुर्त रुपमा गरेको कामलाई आफुले नियालीरहेको भन्दै उनले यहाँका युवाहरुको काम देखेर आफुलाई पनि उत्साह मिलेको बताईन् ।
आफुहरुले स्वतस्फुर्त रुपमा गरिरहेको काममा नगर उप प्रमुख आएर हौसला थपिदिँदा अझ उर्जा मिलेको अभियन्ता तथा साथीभाई समूहका अध्यक्ष गंगा सिटौलाले बताए । बसपार्क क्षेत्रको पुरै सरसफाई गरेर रंगरोगन गर्ने आफुहरुको योजना रहेको उनको भनाई छ ।
दमकलाई सुन्दर बनाउनु सबै दमकबासीको कर्तब्य भएको भन्दै आफूहरुले स्वत स्फुर्त रुपमा आफुहरु सरसफाई अभियानमा जुटेको अर्का अभियन्ता तथा हिमालयन टाईगरका बरिष्ठ उपाध्यक्ष जे विमलीले बताए । यसअघि बसपार्क प्रवेश गर्ने बाटोको खाली ठाउँमा बाह्रमासे सयपत्रीका बिरुवा समेत रोपेका थिए । बाहिरबाट आउने पाहुनाहरु पहिलो पटक बसपार्कमा ओर्लंदानै दमकको बारेमा एउटा धारणा बन्ने भएकाले उक्त ठाउँलाई सफा र हराभरा बनाउन लागि परेको दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य चन्द्र खत्रीले बताए ।

Leave a Reply

Your email address will not be published.