कांग्रेस वडा मतदान अधिकृतलाई प्रशिक्षण

विर्तामोड १७ भदौं । नेपाली कांग्रेसको वडा अधिवेशनका लागि खटिएका मतदान अधिकृत र सहायक अधिकृतलाई निर्वाचन प्रक्रियाबारे प्रशिक्षण दिइएको छ । झापाका १५ वटा पालिकाका १३१ वडामा खटिएका मतदान अधिकृत र सहायक अधिकृतहरुलाई निर्वाचन निर्देशिका, नेपाली कांग्रेसको विधान, नियमावली लगायतका विषयसहित वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयनमा भएको समानुपातिक ब्यवस्थाका बारेमा प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा नेपाली कांग्रेस झापाका निर्वाचन अधिकृत एवं कार्यक्रमका प्रमुख अतिथि सुबोधबाबु चिलवालले सौहार्दपूर्ण तरिकाले पार्टी संगठन बलियो बनाउने गरी सहमति, सहकार्य र एकताको नीति अपनाउँदै निर्वाचन सफल पार्न निर्देशन दिए ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले वडा एवं क्षेत्रीय प्रतिनिधिका लागि क्रियाशील सदस्य संख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको जानकारी दिदै उनले सोही आधारमा निर्वाचन सम्पन्न गराउन आग्रह समेत गरे।

प्रशिक्षणमा बोल्दै कार्यक्रमका सभापति एवं नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आग्रह गरे । कार्यक्रममा सहजीकरण कृष्ण हुमागाईले गरेका थिए ।
प्रशिक्षणमा नेपाल शिक्षक महासंघका अध्यक्ष तेजप्रसाद चौलागाई, नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेल, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पुर्वेली लगायतको उपस्थिति थियो ।
नेपाली कांग्रेस झापा जिल्ला निर्वाचन समितिको कार्यतालिका अनुसार भदौ १८ गते मतदान केन्द्र चयन, मतदान ब्यवस्थापनका लागि पूर्वतयारीका कार्य हुनेछन् । यसैगरी भदौ १९ गते ११ बजे मतदाता नामावली प्रकाशन, १२ बजेदेखि २ बजेसम्म उम्मेद्वारी दर्ता, २ बजेदेखि २:३० सम्म उम्मेद्वारी उपर दावीविरोध, ३ बजे उम्मेद्वारको नामावली प्रकाशन, उम्मेद्वारी फिर्ता ३ बजेदेखि ५ बजेसम्म र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन साँझ ५:३० बजे तय गरिएको छ ।

१३१ वटै वडाका लागि तोकिएको कार्यतालिका अनुसार सहमति भएको अवस्थामा १९ गते नै निर्वाचन प्रक्रिया पूर्ण हुनेछ भने निर्वाचन गराउनुपर्ने अवस्थामा भदौ २० गते ९ बजेदेखि १ बजेसम्म मतदानको समय तय गरिएको छ । मतगणना र परिणाम घोषणा मतदान सकिएलगत्तै प्रारम्भ हुने समयतालिका जिल्ला निर्वाचन समितिले तय गरेको छ ।
वडा अधिवेशनले वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ । गाउँ-नगर कार्य समितिमा समेत क्षेत्रीय प्रतिनिधिले मात्रै भोट दिन पाउने भएपछि क्षेत्रीय प्रतिनिधिका लागि आकांक्षी बढेका छन् । झापाका धेरै वडामा सहमतिको संभावना रहेपनि केही स्थानमा प्रतिष्पर्धा हुने संभावना रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published.