दमक,१५ भदौ । सामाजिक कार्यमा सक्रिय साथीभाई समूहको आज दोश्रो साधारणसभा सम्पन्न भएको छ ।दमक -६ स्थित संस्थाको आफनै कार्यालयमा भएको साधारणसभाको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका थिए ।
सभाको उद्घाटनका क्रममा प्रमुख थापाले दमकलाई सुन्दर,सफा शहरका रुपमा विकास गर्न स्थानीय संघसंस्थाको भूमिका महत्वपूर्ण हुने औल्याए । साथीभाई समूहका गतिविधि प्रशंसनीय भएको उनको भनाई थियो ।
समूहका अध्यक्ष गंगाप्रसाद सिटौलाको अध्यक्षतामा भएको सभामा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले समाज रुपान्तरण गर्न सवैको प्रयास हुन सके मात्र सफलता प्राप्त गर्न सकिने बताईन् ।
समूहका उपाध्यक्ष योगेन्द्र चम्लागाइले स्वागत मन्तव्य राखेको सभाको उद्घाटनमा दमक- ८ का वडाअध्यक्ष दिपेश दाहाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाई, नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका सभापति प्रकाश बुढााथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभाको बन्दसत्रमा समूहका अध्यक्ष सिटौलाद्धारा प्रस्तुत सांगठानिक प्रतिवेदन सुझावसहित पारित गरिएको कार्यक्रम सञ्चालक रहेका समूहका सचिव दिपेन्द्र तिवारीले बताए । २०७६ सालमा स्थापित सो समूहले विशेष गरि सरसफाइ , फोहोर तथा यातायात ब्यबस्थापन लगायतका सामाजिक कार्यहरु गर्दै आइरहेको छ।