
दमक,१५ भदौ । दमक ६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले आसन्न १० औ साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।
संस्थाले आज आफनै सभाहलमा पत्रकार सम्मेलन गरि प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन पुस्तिका संस्थाका अध्यक्ष पदम लिङदेन ( संकल्प ) , उपाध्यक्ष महेन्द्र चाम्लिङ,सचिव दिलीप जवेगु, कोषाध्यक्ष फूलकुमारी आङदेम्बे लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाउदै यसवर्ष पनि सहकारीले भदौ असोज ७ गते साधारणसभा सम्पन्न गरिने तय भएको उनले जनाएका छन् ।
अध्यक्ष लिङदेनका अनुसार यसवर्ष संस्थाको चुनावी साधारणसभा समेत भएकाले त्यसैअनुसार कार्यक्रम तय गरिएको छ । जसअन्तर्गत असोज ५ मा सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका लागि उम्मेदवारी दर्ता,६ गते उम्मेदवारी माथि दावी,विरोध र फिर्ता र ७ गते साधारणसभा सम्पन्न गरिने जनाईएको छ ।
दमकमा मुख्य कार्यालय रहेको सहकारीले जिल्लाको शिवसताक्षी ,बिर्तामोडमा सेवा केन्द्र सञ्चालनमा ल्याएको र यसवर्ष झापा ,मोरङ र इलामका १० स्थानमा थप सेवा केन्द्र विस्तार गरिने कार्यक्रम रहेको अध्यक्ष लिङदेनले बताएका छन् । संस्थाले मुख्य कार्यालयसहित सेवाकेन्द्रवाट शेयर सदस्यहरुलाई प्रतिवेदन वितरण गरिने जनाईएको छ ।
थपिने सेवा केन्द्रहरुमा मोरङको उर्लावारी,मिक्लाजुङ,इलामको माङसेवुङ,चुलाचुली,झापाको मेचीनगर,भद्रपुर लगायत रहेका छन् । शेयर सदस्यहरुका सुविधाका लागि संस्थाले आफनो नीति तथा कार्यक्रम अनुसार थप सेवा केन्द्र विस्तार गर्न लागिएको उनले वताए ।
अध्यक्ष लिङदेनले संस्थाको आगामी चार वर्ष भित्र प्रदेशकै एक उत्कृष्ठ सहकारीका रुपमा विस्तार गरि आफनै भवन, शेयर सदस्यको सुविधाका लागि मोवाइल बैकिङ लगायतका सेवा विस्तार गरिने लक्ष्य रहेको सुनाए ।
प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा संस्थाका अध्यक्ष लिङदेनले संस्थाको गतिविधिका बारेमा र व्यवस्थापक कुवेर तुम्बापोले संस्थाको वित्तिय विवरण संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए । सो कार्यक्रममा संस्थाका सञ्चालक, उपसमितिका पदाधिकारी तथा सदस्यहरुकोे उपस्थिति रहेको थियो ।
महामारीका बीच कारोवारमा बृद्धि
१६४८ जना शेयर सदस्य रहेको सहकारीले कोरोना महामारीका बाबजुद कारोवार वृद्धि गर्न सफल भएको छ । संस्थाका व्यवस्थापक तुम्बापोका अनुसार संस्थाले महामारीका बीच पनि सेवा विस्तार संगै आर्थिक प्रगति गर्न लक्ष्य अनुरुप बृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्षको शेयर पूंजीलाई झण्डै दोव्वर बृद्धि गरेर ३ करोड ६५ लाख १२ हजार ३सय पुरयाँएको छ भने कुल कारोवार ७५ करोड २९ लाख ७६ हजार २७८ रुपैया गर्न सफल भएको व्यवस्थापक तुम्बापोले जनाएका छन् । त्यस्तै, वासलात २६ करोड ११ लाख ५ हजार ६९ रुपैया रहेको संस्थाले जनाएको छ । संस्थाले १८ करोड ३३ लाख २० हजार ९६४ रुपैया कर्जा लगानी , १४ करोड १६ लाख ४७ हजार ४९४ रुपैया बचत गरेको प्रतिवेदनमा उल्लेख छ ।